लाेकसेवा विज्ञापन : अन्योलमा विद्यार्थी

प्रकाशित मिति:

काठमाडौं – मुगुका विशाल शाही लोकसेवा आयोगको परीक्षाका लागि तयारी गर्न काठमाडौं आएको ३ महिना भयो । अस्थायी शिक्षकको जागिर छाडेर आएका उनी संसदीय समितिले स्थानीय तहमा पदपूर्तिका लागि निकालिएको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि अन्योलमा छन् । ‘भएको अस्थायी जागिर छाडेर आएँ,’ उनले भने, ‘खुलेको विज्ञापन पनि रद्द भयो भने कहिले प्रतिस्पर्धा गर्न पाइने हो ।’

बझाङका दीपक रोकायालाई समयमै प्रतिस्पर्धामा सामेल हुन पाइयोस् भन्ने लागेको छ । ‘एक वर्षदेखि दत्तचित्त भएर पढिरहेको छु,’ उनले भने, ‘अहिले रद्द भयो भने फेरि कहिले विज्ञापन खुल्ने हो !’ ५ सय १५ स्थानीय तहका लागि आयोगले ९ हजार १ सय ६१ जना नियुक्ति गर्न जेठ १५ देखि असार ३ सम्मका लागि आवेदन मागेको छ । करिब दुई लाखले आवेदन दिइसकेका छन् । ‘स्थानीय तहमा कर्मचारी धेरै माग भएकाले ६ लाखसम्म आवेदन आउने अनुमान गरेका छौं,’ आयोगका प्रवक्ता किरणराज शर्माले बताए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि भने आवेदन गर्नेक्रम घटेको आयोगले जनाएको छ । ‘विगतमा जस्तै अन्तिम दिनमा आवेदन दिनको संख्यामा वृद्धि हुन सक्छ,’ शर्माले भने, ‘दोब्बर दस्तुरको समय ७ दिनको अवधिमा पनि आवेदन धेरै आउने गर्छ ।’ युवाले राजधानीको बानेश्वर, शंखमूल, कीर्तिपुर, बागबजार र पुलतीसडकलगायत दर्जनौं इन्स्टिच्युटमा तयारी कक्षा लिइरहेका छन् । ‘हाम्रोमा मात्रै नियमित रूपमा ६ हजारले कक्षा लिइरहेका छन्,’ पुतलीसडकस्थित सिइडिपका संयोजक माधव पाण्डेले भने, ‘ऋण गरी काठमाडौं आएर साढे ३ महिनासम्म तयारी गर्छन् ।’ कीर्तिपुरस्थित कीर्तिपुर भ्याली इन्स्टिच्युटका मित्र न्यौपानेले लोकसेवा आयोगले स्थानीय तहको विज्ञापन खुलाएपछि विद्यार्थीबाट पाठ्यक्रम छिटो सकाउन दबाब आएको बताए ।

विज्ञापन रद्द नगर्न चेतावनी – लोकसेवा तयारी गरेका विद्यार्थीले समयमै परीक्षा दिन पाउनुपर्ने भन्दै प्रदर्शन गर्दै आएका छन् । राजधानीका विभिन्न इन्स्टिच्युटमा अध्ययन गरिरहेका विद्यार्थीले संघर्ष समिति बनाएर प्रदर्शन पनि गर्दै आएका छन् ।

संघर्ष समितिले विज्ञापन रद्द भए युवामा डिप्रेसन बढ्न सक्ने जनाएको छ । समितिले विज्ञापन रोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । ‘राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल गर्नु हुँदैन,’ संघर्ष समितिका संयोजक मंगल थापाले शनिबार पत्रकार सम्मेलनमा भने, ‘संसदीय समितिले विज्ञापन रोक्ने निर्देशन फिर्ता लिनुपर्छ । – कान्तिपुर