अमेरिका–चीन व्यापार युद्ध, भारतलाई काइदा

प्रकाशित मिति:

नयाँ दिल्ली – अमेरिका र चीनबीच चलेको व्यापार युद्धको फाइदा भारतले लिन सक्ने विषयमा चर्चा हुन थालेको छ । भारतका कतिपय विश्लेषकले चीन-अमेरिका व्यापार असमझदारीलाई अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । भारतको वाणिज्य मन्त्रालयले यसै विषयमा एउटा अध्ययन नै गरेको छ । अध्ययन रिपोर्टमा भनिएको छ – यो मौकाको फाइदा उठाउँदै भारतले यी दुई देशमा रसायन, ग्रेनाइटसहित ३५० वस्तु भारतबाट निर्यात गर्न सकिनेछ । वाणिज्य मन्त्रालयले अमेरिका–चीन व्यापार युद्धको अवधिमा निर्यात गर्न सकिने वस्तुहरुको पहिचान गर्दै निर्यातको सम्भावना पहिल्याएको हो ।

अमेरिका र चीनमा निर्यात बढाउन भारतका लागि सुवर्ण अवसर आएको पनि रिपोर्ट उल्लेख गरिएको छ । अमेरिका र चीनले पछिल्लो समय दुवै देशका सामानमा अधिक आयात शुल्क लगाउने नीति लिएका छन् । यसै नीतिका कारण व्यापार युद्धको अवस्था सिर्जना भएको हो । रिपार्टमा भनिएको छ– डिजेल, एक्सरे ट्युब तथा केही रसायनसहित १५१ घरेलु उत्पादन छन्, तिनलाई भारतले चीनतर्फ निर्यात गर्न सक्छ ।

यस्ता वस्तु हालसम्म चीनले अमेरिकाबाट आयात गर्दै आएको छ । यतिखेर भारतले चीनमा निकासी बढाउन सक्दा चीनसँगको व्यापार घाटा घटाउन मद्दत मिल्नेछ । अप्रिल–फेबु्रअरी (२०१८–१९)मा भारतको चीनसँगको व्यापार घाटा ५०.१२ अर्ब डलर रहेको छ । निर्यातकर्ता सङ्गठन फियोका अध्यक्ष गणेशकुमार गुप्ता भन्छन्, ‘‘अमेरिका–चीन व्यापार युद्धका कारण भारतलाई फाइदा भइरहेको छ । २०१८ मा अमेरिकातर्फ भारतको निर्यात ११.२ प्रतिशत वृद्धि भएको छ भने चीनमा ३१.४ प्रतिशत बढी हुन पुगको छ ।’’  – नवभारत टाइम्स