योगेशको आग्रह– गुठी विधेयक फिर्ता लिऊँ

प्रकाशित मिति:

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले गुठी विधेयक फिर्ता लिन सरकारलाई अपिल गरेका छन् । माइक्रोब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै भट्टराईले विधेयकका बारेमा सरकारले बुझाउन नसकेको र बुझ्नेले बुझ्न नचाहेको टिप्पणी गरेका छन् ।

उनले प्रतिपक्षी नेपाली कांग्रेसले गुठीको आन्दोलनको भुंग्रोमा रोटी सेक्न थालेको भन्दै सरकारले फिर्ता लिनु उपयुक्त हुने ठहर्याएका हुन् । उनले लेखेको छन्– “गुठी विधेयकः बुझाउनुपर्नेले बुझाउन सकेनन्, बुझ्नुपर्नेले बुझ्न कोसिस नै गरेनन् । आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला प्रधानमन्त्रीज्यू !” विधेयकका विपक्षमा काठमाडौं उपत्यकाबाट निर्वाचित सांसदहरु पनि एकट्ठा भएका छन् । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले त गुठियारलाई सामन्तवादी भनेकाले सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा नै दिनुपर्ने बताएका छन् ।

यसरी सत्तारूढ दल नै विभाजित भएपछि भट्टराईले विधेयक फिर्ता लिएर नयाँ शिराबाट अघि बढनु नै उपयुक्त ठहर्याएका हुन् । गुठी बिधेयक : बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन् ।आगोमा रोटी सेक्न अबान्छीत पनि मिसिए र साम्प्रदायीक सदभाबमाथि धावा बोल्न थाले ।@PM_Nepal स्वदेश फर्कनु भयो । अब यो बिधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला @PM_Nepal ज्यू ।