उपत्यकामा बन्द आह्वान

प्रकाशित मिति:

काठमाडौं – सरकारले ल्याएको गुठी विधेयकको विरोधमा उपत्यका बन्द आह्वान गरिएको छ। विभिन्न धार्मिक संघसंस्थाले आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका हुन्। विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो। समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घन्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ।

त्यसैगरी असार ५ गते काठमाडौंको बसन्तपुरमा विरोध सभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दू महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले भने, ‘मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।’ हिन्दू धर्मसँग सम्बन्धित संघ, संस्थाले सरकारले क्रिश्चियन धर्मलाई संरक्षण गरिरहेको भन्दै आपत्ति जनाउँदै आएका थिए।