वजेटका विषयमा उद्योगीहरुलाई अभिमुखिकरण कार्यक्रम

प्रकाशित मिति:

बुटवल /रुपन्देही उद्योग संघले आज सोमवार आफ्ना सदस्य उद्योगीहरुलाई आर्थिक बर्ष २०७६÷७७ को संघीय वजेटका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वजेटमार्फत उद्योग क्षेत्र आकर्षित भएका नीतिगत तथा कर एवं भन्सारमा भएका प्रावधानहरुका बारेमा जानकारी दिने र त्यसमा छलफल गर्न आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका करिव २ सय उद्योगीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आर्थिक बर्ष ०७६÷७७ को वजेटले उद्योगमा पार्ने प्रभावको विश्लेषण गर्दै मुल्य अभिवृद्धि कर, अन्त शुल्क, भन्सार, आय कर लगायतका विषयमा सिए निशान पौडेलले सहजिकरण गर्दै प्रकाश पार्नु भएको थियो । उहाँले वजेटले उद्योग क्षेत्रको विकासका लागि यसपटक सकारात्मक प्रावधानहरु आएको उल्लेख गर्दै आयकरको कार्यान्वयनको विषयमा केही जटिलता देखिए पनि दिगो विकासका लागि निकै महत्वपूर्ण रहेको बताउनु भयो ।सरकारले वजेटमार्फत स्वदेशी उत्पादनको संरक्षणका लागि उद्योग क्षेत्रबाट माग भए वमोजिम धेरै कुराहरु यस पटक समेटेको पौडेलले जानकारी गराउँदै उद्योगी व्यवसायीहरुको ज्ञानको अभाव एवं लापरवाहीका कारण राम्रा विषय पनि सदुपयोग गर्न नसकेको बताउनु भयो ।

वजेटले औद्योगिक विकास तथा स्वदेशी उद्योगहरुको संरक्षणका लागि निर्यातमा भ्याट फिर्ता, कृषिउपज आयातमा आयकर फराकिलो, कारोवारको आधारमा करको दर, वायोमेट्रिक दर्ता प्रणाली, उत्पादनमुलक उद्योगको निकासीमा आयकर छुट,कपडा उद्योगमा भन्सार छुट लगायतका विषयहरु समेटेकोतर्फ उद्योगीहरु सचेत भएर त्यसको उपयोग गर्न लाग्न कार्यक्रममा सुझाव दिइएको थियो ।उद्योगमा कार्यरत मजदुर र कर्मचारी प्यानमा अनिवार्य दर्ता हुनु पर्ने नभएका व्यक्तिहरुलाई भुक्तानी गरेको पारिश्रमीक वा ज्याला खर्च आयकर प्रयोजनको लागि खर्च मान्न नपाइने प्रावधानले उद्योग सञ्चालनमा समस्या हुने सहभागि उद्योगीहरुले गुनासो गरेका थिए ।कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले संघले आफ्ना उद्योगी व्यवसायी सदस्यहरुलाई सचेत र संगठित बनाउने क्रममावजेटले उद्योग क्षेत्रमा पार्न सक्ने प्रभाव तथा सकारात्मक पक्षहरुका बारेमा जानकारी गराउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको बताउनु भयो । अध्यक्ष अधिकारीले उद्योगीहरुले आफ्ना पक्ष विपक्षमा वजेटमा आएका विषयहरु बुझ्न कार्यक्रमले निकै सहयोग गर्ने विश्वास व्यक्त गर्दै उद्योग र उद्योगीलाई अप्ठ्यारो पर्ने विषयमा पुनरविचार गर्न संस्थागत रुपमा सरकारसंग संघले पहल गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ प्रदेश नं. ५ का संयोजक एजाज आलमले उद्योगीहरुका समस्या धेरै रहेको अवस्थामा वजेटमा आएका राम्रा कुराहरुलाई आत्मसाथ गर्दै त्यसबाट वढीभन्दा बढी फाइदा लिन उद्योगीहरुलाई आग्रह गर्नु भयो । उहाँले उद्योगीहरुले राज्यले अगाडि सारेका प्रावधानहरुको अध्ययन अवलोकन गर्ने बानी बसाल्दै अनुसाशीत बन्न अपिल गर्नु भयो ।संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षता, महासचिव कृष्णप्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, निवर्तमान अध्यक्ष दिनेशराज रेग्मी, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा लगायत बोल्नु भएको थियो ।