अन्तत नायक हमालले प्रेमगित ३ नगर्ने

प्रकाशित मिति:

काठमाडौँ /लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको थियो । निर्माण कम्पनी आशुसेन फिल्मस्का सन्तोष सेन र हमालबीच फिल्मलाई लिएर विभिन्न चरणमा छलफल समेत भएको थियो । स्क्रिप्ट सुनेपछि फिल्म गर्ने मनस्थिति बनाएका हमालले अन्ततः ‘प्रेमगीत ३’ नगर्ने भएका छन् । यसको जानकारी निर्माता सेनले दिए ।

उनले भने, ‘हामीले राजेश हमाललाई प्रदीपको पिताको भूमिका अफर गरेका थियौं । उहाँको राजाको भूमिका थियो । पछि उहाँले प्रदीपको दाईको भूमिका गर्ने इच्छा व्यक्त गर्नुभयो । हामी यसका लागि पनि तयार थियौं । केही दिन अगाडि हाम्रो सांग्रिला होटलमा अन्तिम छलफल भएको थियो । उहाँले सेड्युल मिलाएर खबर गर्ने बताउनुभएको थियो । तर, आइतबार उहाँको एक सदस्यबाट सेड्युल नमिलेका कारण फिल्म गर्न नसक्ने म्यासेज आएको छ ।’हमालले फिल्म नगर्ने भएपछि निर्माता सेनले प्रदीपको पिताको भूमिकाका लागि सोमबारबाट कलाकार छनोटमा जुट्ने बताए । सकेसम्म उनी थिएटरका कलाकार लिने सोचमा छन् । थिएटरबाट नभए चलेका कलाकार नै अनुबन्ध गर्ने उनी बताउँछन् । यस फिल्ममा अभिनेता हमालको प्रवेश हुने चर्चाले दर्शकमा निकै उत्साह थपिएको थियो । पहिलो पटक प्रदीप र हमाललाई स्क्रिन साझेदार गरेको हेर्ने दर्शकको ठूलो इच्छा थियो । तर, त्यो पूरा हुन सकेन ।

केही हप्तादेखि निर्माण टिम ‘गीत’ क्यारेक्टरका लागि आवेदन दिएका युवतीहरुको अडिसनमा व्यस्त छ । केही दिनमा प्रदीपको अपोजिटका लागि एक युवती छनोट गरिने निर्माता सेनको भनाई छ । ‘गीत’ क्यारेक्टरका लागि २७ सय बढीले आवेदन दिएकोमा २५ जना ‘सर्टलिस्ट’ मा परेका थिए । यी मध्येबाट निर्माण टिमले उत्कृष्ट ६ समेत छानिसकेको छ । ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्दैछन् । फिल्म चैत २८ मा हलमा लाग्नेछ ।