समता अस्पतालमा महिला कर्मचारी मृत फेला परेपछी अस्पतालमा तोडफोड

प्रकाशित मिति:

काठमाडौं – बौद्धमा रहेको समता अस्पतालमा अस्पतालकी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छन् । समता अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया बिमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको हो । अस्पतालमा झुन्डिएको अवस्थामा शव फेला परेपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड समेत गरेको डिएसपी चन्दले बताए ।

उनले भने, ‘उहाँहरुले हिजो बेलुका घर नफर्किएपछि खोजी गर्नुभएको रहेछ, अस्पतालमा आज बिहान शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेपछि, मृतकका आफन्तले अस्पतालमा केही तोडफोड गरेका छन् ।’ अस्पतालको गमला, झ्यालका सिसाहरु मृतकका आफन्तले फुटाएका छन् । बौद्ध प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तलबीच छलफल भइरहेको डिएस्पी चन्दले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।