जहाँ र जहिले पनि विपक्षीले पहिले बोल्ने हो : देउवा

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताए। ‘प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो’ भन्दै उनले यो अन्तराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे।

‘प्रधानमन्त्रीले बोल्ने होइन। जवाफ दिने हो। पहिले बोलिसकेपछि के बोल्ने मैले?’ उनले भने, ‘बोल्ने भए हिजो पनि बोल्थेँ नि। जहाँ पनि विपक्षीले पहिले बोल्ने हो। जवाफ प्रधानमन्त्रीले दिने हो।’

आजको बैठकमा कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री रोस्ट्रममबाटै नबोली फर्किएका छन् । आजको कार्यसूची अनुसार ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’ दिन प्रधानमन्त्री संसदमा उपस्थित भएका थिए। प्रधानमन्त्रीअघि प्रतिपक्षी दलको नेताले बोल्न पाउनुपर्ने माग कांग्रेसको थियो । कांग्रेसको अवरोधका कारण आजको बैठक स्थगित गरी सभामुखले भोलिका लागि बोलाएका छन्।