‘द भ्वाइस अफ नेपाल २’ साउनदेखि, कोचमा फेरबदल

प्रकाशित मिति:

काठमाडौं – चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो संकरण शुरु हुने तयारीमा छ । दोस्रो सिजनको तयारी नजिकिँदै गर्दा आयोजकले नयाँ कोच सार्वजनिक गरेको छ । आयोजकका अनुसार दोस्रो सिजनमा दुई नयाँ कोच थप गरिएको छ भने पुराना दुई कोचले यो सिजनमा पनि निरन्तरता दिने भएका छन् ।

पहिलो सिजनमा कोच बनेका सनुप पौडेल र अभया सुब्बा हटाइएको छ । यस्तै वरिष्ठ गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहनेछन् । आयोजकले दोस्रो सिजनमा मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतलाई भित्र्याएको हो । दुवै नेपाली संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।

अमेरिकामा बस्दै आएका गायक लामा यही शोको छायांकनका लागि नेपाल आएका छन् । साउनको पहिलो साताबाट हिमालयन टेलिभिजनमा प्रसारण गरिने शोको दोस्रो संस्करणलाई यसपटक पनि लक्ष्मण पौडेलले निर्देशन गर्नेछन् । यस्तै शोमा होस्ट सुशील नेपाल नै रहने बताइएको छ ।