सन्तोष सेनको ‘प्रेमगीत–३’ आबद्ध भए यी दुई पाका कलाकार

प्रकाशित मिति:

काठमाडौं / सन्तोष सेनको पाँचौं प्रोजेक्ट ‘प्रेमगीत–३’का लागि थप दुई जना पाका कलाकारहरु फाइनल भएका छन् । हिट फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिजका लागि शिव श्रेष्ठ र सुनिल थापा फाइनल भएका हुन् । यो भन्दा पहिल्यै निर्माण पक्षले अन्य पाँच कलाकारहरु प्रदीप खड्का, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की र प्रेम पुरी फाइनल गरिसकेको छ ।

मल्टिस्टारर् फिल्म ‘प्रेमगीत–३’को मुख्य अभिनेत्री ‘गीत’को अडिशन चलिरहेको समय पाका कलाकारहरु शिव श्रेष्ठ र सुनिल थापा आबद्ध भएसँगै दर्शकमाझ थप कौतुहलता बढेको छ । त्यसोत, तेस्रो ‘गीत’ बन्ने सौभाग्य कसले पाउलान् भन्ने कौतुहलता पनि उत्तिकै छ ।यो फिल्ममा नेपालकै पहिलो एक्शन अभिनेता रुपमा चिनिने शिव श्रेष्ठलाई प्रदीप खड्का र मनिष राउतको बुवाको भूमिकामा देख्न पाइने निर्माण पक्षले जानकारी गराएको छ । लामो समयपछि दर्शकहरुले अभिनेता श्रेष्ठलाई पूरानै ‘एङग्री म्यान’को रुपमा पर्दामा देख्न पाउने भएका छन् ।

अर्को तर्फ बलिउडमासमेत चर्चा कमाईसकेका कुशल कलाकार सुनिल थापा पनि सशक्त भूमिकामा देखिने निर्माण टिमको भनाइ छ । ‘ठूल्दाई’, ‘चिनो’ लगाएतका सुपरहिट फिल्ममा सँगै काम गरेका सुनिल थापा र शिब श्रेष्ठ पुनः पर्दामा एक साथ आउँदै गर्दा फिल्म थप रोमाञ्चक हुने आँकलन गरिएको छ ।आगामी चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’लाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।