‘होस्टेल ब्याक अगेन’ का लागि कलाकारको खोजी

प्रकाशित मिति:

काठमाडौँ /अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म हो ‘होस्टेल’ । यो फिल्म सफल भएपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन । यो फिल्म सफल हुनुको कारण उनलाई नै मानिएको थियो । उक्त फिल्मबाट उनीसँगै सलोन बस्नेत र गौरव पहारीले पनि डेब्यू गरेका थिए । दोस्रो सिरिजबाट भने लिड हिरोको रुपमा शुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेनले डेब्यू गरे ।

अब, यस फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । ‘होस्टेल ब्याक अगेन’ नाम जुराइएको फिल्मलाई दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडक्सनले निर्माण गर्दैछ । भने, दुई सिरिजमा निर्माता र कलाकारको रुपमा रहेका सुनिल रावलले निर्देशन गर्नेछन् । उनले यो फिल्मबाट निर्देशनमा हात हाल्न लागेका हुन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ । यसको अगस्टबाट छायांकन सुरु हुनेछ । ‘होस्टेल’ को दुई सिरिजमा नयाँ कलाकारलाई मौका दिएका निर्माता रावलले तेस्रो पार्टमा पनि लिड रोलमा नयाँ कलाकारलाई नै अवसर दिने भएका छन् । यसका लागि अमेरिकामा अडिसन आह्वान गरिएको छ । निर्माता रावल लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । इच्छुकले फिल्मका लागि अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । फिल्मको कथा निर्देशक बन्न लागेका निर्माता रावल स्वयंको हो ।

यसको पटकथा, संवाद रायन राइजले लेखिरहेका छन् । हाल स्क्रिप्टको काम भइरहेको सुनिलले जानकारी दिए । हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवा युवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने रावलले बताए । ‘होस्टेल’ लाई हेमराज विसी र दोस्रो सिरिजलाई सुरज भुषालले निर्देशन गरेका थिए । ‘होस्टेल ब्याक अगेन’ यसै वर्ष प्रदर्शनमा आउने छ ।