एजेन्सी /हुवावे माथि अमेरिका र अमेरिकी कम्पनीले लगाएको प्रतिबन्धका लागि कारणले गर्दा हुवावेका सीईओले हुवावेलाई ठूलो घाटा हुनसक्ने कुराको जानकारी दिएका छन् । हुवावेका सीईओ रेन जेंगफेईले उक्त घाटाको रकम लगभग ३० अर्ब अमेरिकी डलर हुने अनुमान गरेका छन् ।
उनीले प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम भएर केवल १०० अर्ब अमेरिकी डलर मै सिमित हुने कुराको जानकारी प्रदान गरेका छन् । यसै गरि रेनले अमेरिकाले हुवावे प्रति यति धेरै कठोरता देखाउने प्रत्याशा नगरेको कुरा व्यक्त गरेका छन् । उक्त प्रतिबन्धले गर्दा हुवावेलाई सामग्रीको आपूर्तिमा र अन्तर्राष्ट्रिय संगठनमा सहभागी हुन पनि गाह्रो भएको जानकारी दिएका छन् ।
रेनका अनुसार प्रतिबन्ध लागे पश्चात हुवावेको स्मार्टफोन बिक्री लगभग ४० प्रतिशतले घटिसकेको छ । यही तवरमा हुवावे स्मार्टफोनको बिक्री घट्दै गएको खण्डमा हुवावेले एक वर्ष मै ४ करोड देखि ६ करोडसम्म कम मात्रामा स्मार्टफोन बिक्री गर्न सक्नेछ ।गुगलको प्रतिबन्ध लाग्नु अगाडी हुवावेको स्मार्टफोन बिक्री संख्या सन् २०१९ को पहिलो ३ महिनामा नै ४४ प्रतिशतले वृद्धि भएको थियो । यस वर्ष हुवावेले आइफोन निर्माता एप्पललाई जित्न सफल भएको थियो । गत वर्ष यहि समयमा हुवावेको १०।५ प्रतिशत स्मार्टफोन बजार हिस्सा थियो जुन संख्या अहिले ४४ प्रतिशतले बढेर १५।७ प्रतिशत हुन पुगेको थियो । हुवावे अहिलेको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्न सफल भएको छ र दोस्रो स्थान मै अझै कति धेरै समयसम्म टिकिरहन सक्नेछ भन्ने कुराको केही टुंगो भने छैन ।गत महिना गुगलले हुवावे माथि प्रतिबन्ध लगाएको थियो जस अन्तर्गत हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको स्वामित्वमा रहेको कुनै पनि सेवा र एपहरूको प्रयोग गर्न पाउने छैन । गुगलले ओपन सोर्स बनाएर राखेको सेवा र एपहरू मात्र हुवावेले प्रयोग गर्न सक्नेछ । यसैसँगै हुवावेले अन्य अमेरिकी कम्पनी जस्तै माइक्रोसफ्ट, क्वाल्कम, आर्म आदि जस्ता कम्पनीहरूको कुनै पनि सेवा वा उत्पादनहरू प्रयोग गर्न पाउनेछैन ।