आयंका जोडीः युट्युबमा हिट, हलमा फ्लप

प्रकाशित मिति:

काठमाडौँ /नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जोडीलाई डिजिटल माध्यम युटुबमा राम्रै रुचाइन्छ । ‘आयंका’ नामले परिचित यी दुई समाजसेवामा पनि लागेका छन् । यी दुइलाई लिएर थुप्रै म्यूजिक भिडियो पनि बनेका छन् । म्यूजिक भिडियोले युट्यूबमा राम्रै भ्यूज पनि पाएका छन् । यी दुइका अन्र्तवार्ताहरु विभिन्न युट्यूब च्यानलमा चलेका पनि छन् ।

नायिका कार्की फेसबुक र इन्स्टाग्राममा सर्वाधिक फ्यान कमाएकी नायिका पनि हुन् । उनको लोभलाग्दो फ्यान देख्दा लाग्छ, उनको स्टारडम गज्जबको छ । तर, नायक–नायिकाको स्टारडम सामाजिक संजालमा भन्दा पनि हलमा देखिनुपर्छ । हलमा उनीहरुलाई पैसा तिरेरै हेर्न आउने दर्शकको संख्याले पनि उनीहरुको लोकप्रियता मापन गर्छ ।नायिका कार्की र नायक देशराजको प्रेम सम्बन्धको चर्चासँगै यी दुई सधै मिडियामा छाउने गरेका पनि छन् । तर, हलमा भने यी दुइलाई दर्शकले पत्याएका छैनन् । यी दुइको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमदिवस’ शुक्रबारदेखि रिलिज भएको थियो । तर, चलचित्रले शुक्रबार र शनिबार नै राम्रो दर्शक पाउन सकेन । आइतबारदेखि मल्टिप्लेक्स र सिंगलमा चलचित्रको व्यापार निकै नै कमजोर छ । प्रियंका र आयुष्मानको अनुहार हेर्न दर्शक आएनन् ।

यसअघि चलचित्र ‘कथा काठमाण्डु’मा नायिका कार्कीले दिएको बेडसिनको दृशयले पनि चर्चा पायो । चलचित्रमा आयुष्मान देशराज जोशी पनि थिए । तर, चलचित्र चलेन । आयुष्मान र प्रियंकाले सामाजिक संजालमा गरेका हल्लाहरुलाई दर्शकले नपत्याएको पुष्टी हुन्छ । योसँगै यी दुइले चलचित्रमा काम गर्दा हरेक कुरा हेरेर मात्र गर्नुपर्ने देखिएको छ ।