लोपोन्मुख संस्कारको जगेर्ना गर्दै निजी विद्यालय

प्रकाशित मिति:

वालिङ –  लोप भएर जाने अवस्थामा रहेका विभिन्न संस्कृतिको संरक्षणमा भीरकोट नगरपालिका–१ हेलु नयाँ बजारस्थित कन्साइन्स इङ्लिस बोर्डिङ स्कूलका बालबालिका सक्रिय भएका छन् । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकालाई दुनाटपरी, माटोका भाँडाकुँडा, बाँसको चोयाबाट डोकाडाला बुन्न सिकाउनुका साथै लोक भजन संरक्षणका लागि विद्यार्थीलाई अभिप्रेरित गर्दै आएको छ । आजका विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर दैनिक जीवनमा प्रयोग हुने सीप पनि सिकाउन आवश्यक ठानी दुनाटपरी, माटोका भाँडाकुँडा तथा बाँसका डोकाडाला बुन्ने तरिका सिकाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फणिनारायण अर्यालले बताउनुभयो ।

“जग्गा भाडामा लिएर सामूहिक तरकारी लगाउन सिकाउने योजना पनि बनाएका छौँ”, अध्यक्ष अर्यालले भन्नुभयो, “त्यसका लागि जग्गाको खोजी भइरहेको छ । पहिलो चरणमा नयाँ नयाँ सीपतर्फ विद्यार्थीलाई आकर्षित गर्न यो अभियान चलाएका हौँ ।”दुनाटपरी, माटोका भाँडाकुँडालाई प्लाष्टिकबाट बनेका भाँडाकुँडाले विस्थापित गरिरहेका बेला विद्यार्थीको माध्यमबाट पुराना संस्कार संस्कृतिको संरक्षणका लागि विद्यालयमै प्रयोगात्मक विधि अपनाइएको प्रधानाध्यापक जीवन अर्यालले बताउनुभयो ।“विद्यालयका शिक्षक, शिक्षिका तथा अभिभावकको सहयोगमा दुनाटपरी बनाउन सिकाएका छौँ”, प्रधानाध्यापक अर्यालले भन्नुभयो, “विद्यालयमा सिकेका सीपलाई विद्यार्थीले घरमा पनि निरन्तर प्रयोग गरी उत्पादन भएका वस्तुको नमूना विद्यालयमा ल्याउने गरेका छन् ।”

यस क्षेत्रमा प्रशस्त बाँस पाइने भएकाले पनि बाँसबाट विभिन्न सामान बनाउन सिकाउने विद्यालयले जनाएको छ । “किताबी ज्ञान मात्रैले विद्यार्थी सीपयुक्त नहुने भएकाले विद्यार्थीलाई सक्रिय बनाउन र उनीहरुलाई रचनात्मक कार्यप्रति आकर्षित गर्नका लागि यो अभियान सञ्चालन गरेका हौँ”, प्रधानाध्यापक अर्यालले भन्नुभयो, “विद्यार्थीलाई नयाँ ज्ञान हासिल गर्नका लागि र लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृतिको संरक्षणका लागि उपयोगी हुने विश्वास लिएको छु ।”विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत यस खालका रचनात्मक र जीवन उपयोगी सीप सिकाउँदै आएको र आगामी दिनमा अझै प्रभावकारी र व्यवस्थित तवरले सञ्चालन गर्ने तयारीमा विद्यालय रहेको प्रधानाध्यापक अर्यालको भनाइ छ । – रासस