अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

प्रकाशित मिति:

वासिङटन- अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको हो ।

अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिएको अमेरिकी अखबारहरुले जनाएका छन् । कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भनेका छन्– मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु ।
ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेको उनले जानकारी गराएका छन् ।

यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको बताइएको छ । कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भनेका छन्– हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैटनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ ।