सेयर बजार स्थिर, जम्मा ३० करोडको कारोबार

प्रकाशित मिति:

काठमाडौं – बुधबार सेयर बजार स्थिर देखिएको छ । जम्मा ०.२० अंकले मात्रै ओरालो लागेर बजार स्थिर देखिएको हो । मंगलबार बजार २ अंक माथिले तल झरेको थियो । बुधबार कारोबार रकम पनि उल्लेख्य हुन सकेन, जम्मा ३० करोड रुपैयाँमा सीमित भयो । दिनभर भएका ४ हजार ४ सय २८ करोबारबाट १६९ कम्पनीका ९ लाख ८० हजार ९ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा देखिएको छ । यसको दिनभरमा २ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआईसी एशियाको सेयर मूल्य बुधबार ४६६ रुपैयाँ रहेको छ ।

दोस्रो नम्बरमा भने प्रभु बैंक देखिएको छ । यसको पनि २ करोड रुपैयाँमाथि कारोबार भएको छ । प्रभु बैंकको सेयर मूल्य बुधबार २६५ रुपैयाँमा बन्द भएको छ । कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर र तारागाउँ होटल क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् । यी सबैको करोड भन्दा माथि सेयर कारोबार भएको छ ।