अचम्म, दक्षिण भारतमा रुख चढ्न मिल्ने साइकल

प्रकाशित मिति:

एजेन्सी -सुरिलो रुखमा चढ्न मानिसलाई समेत कठिन हुन्छ । तर, भारतमा एकजना किसानले रुख नै चढ्ने साइकल बनाएका छन् ।भारतको कर्नाटक राज्यका एक किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल बनाएका छन् । साइकल आकारको यो मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ ।

कर्नाटकको सजिमामूडा नामक गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल निर्माण गरेका हुन् ।यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा रहेको सिटमा बसिसकेपछि त्यसलाई चलाएर रुखको टुप्पासम्म पुग्न सकिन्छ । यो निकै सजिलो र उपयोगी आविष्कार भएको उनको दाबी छ । यो साइकलमा ६० देखि ८० किलो वजन भएका मानिस चढ्न सक्छन् । पेट्रोलबाट चल्ने यो मेसिनको सुरक्षा तथा सावधानीको उचित व्यवस्था मिलाइएको छ ।किसानहरुलाई नरिवल, सुपारीजस्ता सुरिला रुख चढ्न निकै अप्ठेरो पर्ने भएको हुँदा त्यस्ता रुखहरुमा चढ्नका लागि किसानहरुको पहिलो रोजाइमा यो साइकल पर्ने विश्वास उनको छ ।