स्थानीय तहमा बिनाअनुमति कार्यक्रम गर्ने एनजिओलाई सरकारले प्रतिबन्ध लगाउने

प्रकाशित मिति:

काठमाडौं – सरकारले बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्था (एनजिओ हरुलाई प्रतिबन्ध लगाउने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाउने जानकारी दिए। सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैससहरुले आफ्नो कार्यक्रम गर्न सक्ने उनको भनाइ छ।

बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि बताए। स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढने निष्कर्ष निकालेको उनको भनाइ छ। संघीय सरकार संविधान अनुसार चलेको भन्दै उनले संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई जनताको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्न लागिपरेको बताए।