इरानले अमेरिकी सैनिक ड्रोन खसाल्यो

५ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
118 Shares


तेहरान – अमेरिका र इरानबीच तनाव चुलिरहेका बेला फारसको खाडी क्षेत्रमा अमेरिकी सैनिक ड्रोन खसालेको छ । इरानको रिभल्यूशनरी गार्ड कप्र्सले बुधबार दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित जलक्षेत्रको आकाशमा उडान भरेको अमेरिकी ‘गुप्तचर’ विमानलाई खसालेको दाबी गरेको हो ।

इरानको इर्ना समाचार संस्थाले गुप्तचरी अभियानका लागि इरानको आकाशमा उडान भरेको अमेरिकी आरक्यू–४ ग्लोबल हक नामक चालकरहित ड्रोन खसालेको जनाएको हो । अमेरिकी सेनाले इरानको दाबीलाई पुष्टि गर्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडान भरेको आफ्नो सैनिक ड्रोन इरानद्वारा खसालिएको जनाएको छ । अमेरिकी अधिकारीले भने इरानले खसालेको ड्रोन आरक्यू–४ ग्लोबल हक नभई अमेरिकी जलसेनाको एमक्यू–४ सी ट्राइटन रहेको जनाएको छ ।

अमेरिकी सैनिक अधिकारीले इरानले अमेरिकी ड्रोन खसाल्ने बेला कुनै पनि अमेरिकी ड्रोनले इरानको आकाशमा उडान नभरेको स्पष्ट पारेका छन् । पछिल्लो समय खाडी क्षेत्रमा तेल बोकेका दुई ट्यांकरमाथि आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव चुलिरहेको छ । अमेरिकासहित साउदी अरब र अन्य खाडी मुलुकले आक्रमणको दोष इरानलाई दिँदै आएका छन् भने इरानले उक्त दाबीको खण्डन गर्दै आएको छ । स्रोत : एल ए टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया