सुनको मूल्य तोलाको ६५ हजार पुग्यो, बिक्री ठप्प !

६ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं – नेपालको इतिहामै शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च थियो तर उक्त रेकर्ड शुक्रबार पुनः प्रतितोला एक हजारले नै बढेर तोडिएको छ । प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बजेटमा एक हजार कर थपिए पछि ६० हजार पुगेको थियो ।

महासचिव बज्राचार्यका अनुसार बजारमा सुनको मूल्य बढ्नुमा कुनै आन्तरिक कारण भने छैन । इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको हुन सक्ने बज्राचार्यले बताए । असार महिनामा धेरै विवाह हुने भएकाले सुन ब्यवसायका लागि सिजन मानिन्छ । तर मूल्य वृद्धिका कारण ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया