विप्लव समूहले गर्‍यो संघर्षका कार्यक्रमको घोषणा

प्रकाशित मिति:

काठमाडौं – सर्लाहीमा विहीवार प्रहरीले आफ्नो जिल्ला इन्चार्जको गोली हानी हत्या गरेको भन्दै प्रतिबन्धित नेकपा विप्लव समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै ४ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका हो ।

केपी ओली नेतृत्वको सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य बनाउने बदनियतले मुठभेडका नाममा दैनिक निशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको आरोप विप्लवले लगाएका छन् । विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कदै गर्दा सर्लाही लाबन्दी १ लखन्ती खोलामा हाम्रा पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ ।’

वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरुको हत्या गर्ने ओली सरकार उद्यत रहेको विप्लवले आरोप लगाएका छन् । पौडेललाई शहीद घोषणा गर्दै शहीदको सपना पूरा गरिछाड्ने प्रतिवद्धता जनाउँदै हत्याविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको विप्लवले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जस अनुसार असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।