सरकार ! नेपालीले वर्षमा कतिवटा किताव पढ्न पाउने हो, कोटा तोकौं : गगन थापा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटले किताव आयतमा दश प्रतिशत भन्सार महसुल लगाउने निर्णयले स्वदेशी मुद्रण व्यवसायलाई कुनै फाइदा नपुग्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद थापाले भन्सार महसुलले स्वदेशी मुद्रणलाई फाइदा पुग्ने सरकाको कुरामा कुनै दम नरहेको बताए । सरकारले घरेलु मुद्रण व्यवसायीको हित चाहेको भए अन्य कयौं उपायहरु रहेको भन्दै उनले सरकारले पुस्तकलाई नियन्त्रण गर्न खोज्दै प्रकारान्तरमा ज्ञानलाई नै नियन्त्रण गर्न खोजेको दाबी गरे ।

‘यस्तो कामको एउटै उदेश्य देखिन्छ । कितावलाई महंगो बनाउँदै कितावलाई नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानलाई नियन्त्रण गर्नु’ थापाले भने । सांसद थापाले विदेशबाट आउने नेपालीले भन्सार नतिर्ने गरि धेरै किताव ल्याउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै त्यसमा कोटा लगाउन सुझाव दिए ।

‘सुझाव दिन चाहन्छु विदेशबाट आउने नेपालीले कतिवटा किताव ल्याउन पाउने त्यसको कोटा तोकिदिनुस्’ थापाले कटाक्ष गर्दै भने,‘विमानस्थल लगायतका स्थानमा सुरक्षा जाँच बढाउनुस्, किताव बढी ल्याउनेलाई दण्ड जरिवाना गराउँनु । त्यति गर्दा पनि नेपालीले किताव पढ्न नछाड्ने हो भने सरकारले एक वर्षमा नेपालीले कति किताव पढ्न पाउने हो त्यसको कोटा तोकिदिनुस् ।’