किम जोन उनलाई ट्रम्पको पत्र , के छ त्यो पत्रमा ?

प्रकाशित मिति:

बुटवल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनलाई एक महत्वपूर्ण पत्र पठाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले ट्रम्पले किमलाई उक्त पत्र पठाएको र यसलाई गम्भीरतापूर्वक लिएको पनि उल्लेख गरेको छ । यस विषयमा अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन । गत फेब्रुअरीमा भियतनाम सम्मेलनमा दुई मुलुकको बीचमा न्युक्लियर वार्ता हुन नसकेको अवस्थामा यस किसिमको पत्र ट्रम्पले पठाएका हुन् ।

अमेरिकाले उत्तर कोरियासँग आफ्नो न्युक्लियर हतियारको कार्यक्रम त्याग्नुपर्ने माग गर्दै आएको छ । उत्तर कोरियाले भने निशस्त्रीकरणको लागि एकपछि अर्को कदम चालिने बताउँदै आएको छ । उसले निशस्त्रीकरणका लागि उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध पनि घटाउँदै जानुपर्ने बताउँदै आएको हो ।

ट्रम्पको पत्रप्रति उत्तर कोरियाली नेता प्रसन्न रहेको समाचारमा उल्लेख छ । समाचारमा बताइएअनुसार असामान्य किसिमको यस किसिमको पत्रमा निकै चाखलाग्दा कुराहरु समावेश रहेको थियो । तर, यसबारे विस्तृत जानकारी भने दिइएको छैन । दक्षिण कोरियाले भने अमेरिकाले उत्तर कोरियालाई पत्र पठाउनु एक सकारात्मक विषय रहेको बताएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गरेको केही समयमा ट्रम्पको पत्र उत्तर कोरिया पुगेको हो । सी र किमको बीचमा पनि कोरियाली प्रायद्वीपको राजनीतिक अवस्थाको विषयमा वार्ता भएको थियो । –  एजेन्सी