युवाको जोश सहकारीबाट उद्योग सञ्चालन , दुग्ध सहकारीको विविधिकरण, ३० जनालाई प्रत्यक्ष रोजगारी

प्रकाशित मिति:

ललित पाण्डेय । गाउँघरका युवाहरु काम खोज्दै विदेशतिर लागे, कसैले यतै जागिर खाए । तर, तीमध्येका कतिपयले भने केही न केही उद्यम गर्नुपर्छ भन्ने शोंचे र पशुपालन सुरु गरे ।  सैनामैनाको सालझण्डीका केही युवाले साथीसाथीका बीचबाट सुरु गरेको पशुपालन विस्तारै टोलछिमेक हुँदै नमुना सहकारी र उद्योगका रुपमा परिणत भएको छ । सहकारीमार्फत विविधकरण गर्दै उद्योग सञ्चालन गरेका युवाहरु अहिले उदाहरणीय बनेका छन् ।

१० वर्षअघि छ जनाबाट सुरु भएको उनीहरुको त्यो पेशा अहिले सहकारी हुँदै विविधिकरणको उद्योगसम्ममा परिणत भएको छ र अहिले प्रदेशकै नमुना सहकारीका रुपमा दरिएको छ । सहकारीमा हाल तीन सय ३० जना सदस्य छन् । उनीहरु किसान र दुग्ध उत्पादक हुन् ।
सालझण्डीका स्थानीय युवा कमल अर्याल सहित ६ जना युवाहरु मेघराज भट्टराई , रेमशलाल उपाध्याय, गणेशप्रसाद पौडेल र मोहन पौडेलले एउटा समूह बनाएर गाएपालन सुरु गरेका थिए । त्यतिबेला उत्पादन भएको बिहानपखको दुध सालझण्डी बजारमै विक्री हुन्थ्यो । तर, साँझ पखको दुध विक्री गर्न गाह्रो पथ्र्याे । ‘कहिले खुवा बनाउँथ्यौं त कहिले पनिर बनाएर राख्थ्यौं’ अगुवा तथा तीनधारा दुग्ध सहकारीका संस्थापक अध्यक्ष अर्याल दुग्ध उत्पादन गर्ने किसानलाई एकजुट बनाएर सहकारीमा परिणत गरेपछि भने केही आधार मिलेको बताउँछन् ।
बुटवलमा पुगेर दुग्ध विकास संस्थान सँग सहकार्यको कुरा भएपछि उनीहरुको पेशा थप विस्तार भयो । फलस्वरुप दैनिक पाँच सय हुँदै एक हजार र हाल दुई हजार लिटर दुध उत्पादन भइरहेको छ । यहीँ दुग्ध पदार्थलाई विविधिकरण गर्दै उद्योग सञ्चालनको अवस्थामा उनीहरु पुगेका छन् । गाउँ घरबाट धेरै दुध संकलन हुन थालेपछि ३५ जना किसान मिलेर २०६७ सालमा तीनधारा दुग्ध उत्पादक सहकारी संस्था खोलिएको थियो । सहकारी सञ्चालनमा ल्याएपछि दुग्ध विकास संस्थामा दुध विक्री गर्न छाड्यौं । यहाँ संकलन भएको दुधलाई बुटवलको स्थानीय बजारमा विक्री गर्ने र बाँकी दुधलाई उद्योगमार्फत विविध सामग्री उत्पादन गर्नेमा लगाइएको छ । सहकारीले अहिले तीनधारा डेरी उद्योग सञ्चालनमा आएको छ । प्रत्यक्ष रुपमा ३० जनालाई रोजगारी दिएको छ । सैनामैना र कञ्चनमा गरी १२ वटा दुध संकलन केन्द्रबाट संकलन दुध संकलन गरिने उपाध्यक्ष टोपलाल अर्यालले बताए । उनले थपे १२ सय लिटर दुध बुटवलमा जाने गरेको छ भने ८ सय लिटर दुध उद्योगमा खपत हुने गरेको छ ।

दैनिक रुपमा दुई वटा गाडी सञ्चालन गरेर गाउँमा दुध संकलन गरिन्छ । दुधको माग बजारमा चैत्रदेखि असोजसम्म बढि हुन्छ तर कात्तिक लागेपछि दुधको माग कम हुने गरेको उनले बताए । सहकारीले नै उद्योग सञ्चालन गर्ने साधरणसभाबाट निर्णय गरेर करिब एक करोड ५१ लाखको लगानीमा उद्योग सञ्चालनमा ल्याएको सहकारीका कोषाध्यक्ष यमलाल खरेलले बताए ।  उद्योगबाट अहिले ३० मजदुरले प्रत्यक्ष रोजागार पाएको उनले बताए । उद्योगबाट अहिले आईसक्रिम, घ्यू, दही सहित ३० प्रकारका परिकार उत्पादन हुँदै आएको खरेलले जानकारी दिए । यहाँ उत्पादन भएका चिजहरु अहिले स्थानीय बजार सैनामैनासँगै बुटवल, पाल्पा, नवलपरासी जाने गरेकोे छ । उद्योगबाट मासिक रुपमा २ लाख आम्दानी हुने गरेको उनले बताए । उद्योगलाई थप विस्तार गर्दै लैजाने सोच गराएको उनले बताए ।

सहकारीले किसानको जिवनस्तर सुधार गर्दै प्रदेशकै उत्कृष्ट सहकारी भएको दाबी गरेको छ । किसानलाई प्रोत्साहनको लागि सहकारीले अन्य ठाउँमा भन्दा पाँच रुपैंया बढि पैसा दिएर दुध किन्ने गरेको बताए । ५० देखि ७५ रुपँैयासम्ममा किसानको दुध खरिद गर्दै आएको सहकारीका सचिब पवन पोखरेले जानकारी दिए ।  प्रदेश ५ सरकारले सहकारीलाई छ लाख ५० हजार अनुदान दिएको छ उनले भने थप प्रदेश सरकार र सहकारीको आर्थिक सहयोगमा १४ लाखको उपकरण उद्योगको लागि खरिद प्रक्रियामा रहेको बताए । सैनामैना नगरपालिकाबाट अनुदान बापत ५ लाख आएको छ यसले गर्दा किसानमा थप हौंसला प्रदान भएको पोखरलले दाबी गरे । उद्योगलाई थप ब्यवस्थित गर्दे उत्पादन र बजार बढाउँने लक्ष्य लिएका छौं पाखरेल भन्छन तर विद्युतको समस्याले गर्दा उद्योगलाई समस्या परेको छ ।  नगरपालिकाबाट आएको अनुदानबाट जेनेटर किनेका छौं लो–भोल्टजले गर्दा उद्योग सञ्चालनमा चुनौती थपिएको उनको भनाई छ । सहकारीले पशु विमाको लागि ५० प्रतिशत बिमा किसानलाई उपलब्ध गराउँदै आएको छ । यस्तै घाँस खेती, घाँसको विउ खरिदमा पनि ५० प्रतिशत अनुदान किसानले पाउँदा थप हौंसला प्रदान भएको सहकारीका सदस्य तथा दुग्ध उत्पादक कृषक चुडामणी भुषालले बताए ।  ठूला लगानी गर्ने र साना लगानी गर्ने किसानलाई सहकारीले धेरै फाईदा पुराएको छ उनले भने १० लाख सम्म विना धितो ऋण पाउँदा पशुपालन ब्यवसायमा थप लगानी गर्न हौंसला मिलेको बताए ।  स्थानीय कृषक प्रेमनारायण अर्यालले पनि सहकारीबाट झिकेको ऋणबाट गाई पालन गर्दै आएको बताए । सहकारीले गर्दा साना किसानलाई समेत फाईदा पुगेको उनलको दाबी छ । एक करोड ६१ लाख सहकारीको पूँजी रहेको छ । सहकारीले शेयर सदस्यबाट मासिक पाँच सय रुपैँयासम्म बचत संकलन गर्दै आएको छ ।