२९ दिनमै सकियो रातो टिका निधारमा को सुटिंग

प्रकाशित मिति:

काठमाडौँ -छोटो समयमै फिल्मको छायांकन सक्ने निर्देशक हुन् अशोक शर्मा । उनले आजसम्म कुनै फिल्मको छायांकन महिना दिनभन्दा धेरै गरेको रेकर्ड छैन । उनी निर्धारित समयमा नै फिल्म प्याकअप गर्छन् । १२ वर्षपछि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ बाट निर्देशनमा कमब्याक गरेका उनले शुक्रबार नयाँ फिल्म ‘रातो टिका निधारमा’ को २९ दिनमै छायांकन भ्याएका छन् ।

क्यामेरा ‘अन’ भएको २९ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक शर्माले जानकारी दिए । कलाकार र मौसमले राम्रो साथ दिएका कारण फिल्मको समयमै छायांकन सकिएको उनको भनाई छ । झापा र काठमाडौंमा फिल्मको छायांकन गरिएको छ । शीर्ष गीत ‘रातो टिका निधारमा’ खिच्दै फिल्मको छायांकन सुरु भएको थियो । फिल्ममा यो गीत रि एरेञ्ज गरेर राखिएको छ । उक्त गीत दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा समावेश थियो । यसमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नृत्य गरेका थिए । रिमेक भर्सनमा भने ‘रातो टिका निधारमा’ का दुई लिड कलाकार साम्राज्ञी आरएल शाह र अंकित शर्माले ठुम्का लगाएका छन् । झापामा भब्य सेट खडा गरेर खिचिएको गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

पछिल्लो समय नेपाली फिल्ममा पुराना लोकप्रिय गीतलाई रिएरेञ्ज गर्ने होड चलेको छ । तर, कुनै रिमेक भर्सनलाई दर्शकले रुचाएका छैनन् । यो भीडमा ‘रातो टिका निधारमा’ को रिमेक भर्सन अपवाद बन्ला रु यसका लागि गीतकै प्रतिक्षा गर्नुपर्ने छ । निर्देशक शर्मा भने गीतको अडियो र भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको बताउँछन् । फिल्म दशैंमा रिलिज हुँदैछ । यो फिल्मबाट निर्देशक शर्माका छोरा अंकितले डेब्यू गर्दैछन् । उनको अपोजिटमा अभिनेत्री साम्राज्ञी छिन् । नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहेका छन् ।