विक्रम खड्का । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँंणले बुटवल उपमहानगरपालिकाले वडा नम्वर १ मा डोजर लगाई स्थानीय १६ घर परिवारलाई बिस्थापित गराएकोप्रति दुःख व्यक्त गर्दै विस्थापितलाई तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् ।
खाँणले एक विज्ञप्ति प्रकाशित गरी वर्षादको समय नजिकिँदै गर्दा वर्षौंैदेखि बस्दै आएका परिवारलाई विस्थापित गर्नु मानवअधिकार र सामाजिक न्यायविपरित भएको उल्लेख गरेका छन् । उनले विस्थापितको बैकल्पिक बसोवासको व्यवस्था तत्काल नगरे काग्रेस आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । नेता खाँणले बिस्थापित परिवारले गरेको शान्तिपूर्ण धर्नाप्रति समर्थन जनाउँदै नेपाल सरकार र सत्तारुढ दललाई यस्ता जनविरोधी काम नगर्न सुझावसमेत दिए । बुटवल–१ स्थित रजा ए मुस्तफा मस्जिदअगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले दुई हप्ताअघि डोजर लगाएर भत्काइदिएको थियो । त्यसपछि घरबारविहीन भएकाहरू वैकल्पिक व्यवस्थाको माग गर्दै अनसनमा बसिरहेका छन् । आज उनीहरुको अनसन ११ दिनमा पुगेको छ ।
अदालतमा मुद्दा चलेको र अन्तिम फैसला नहुँदै उपमहानगरले बलपुर्वक वर्षायामको मुखमा आफूहरुलाई घरवारविहीन बनाएर अन्याय गरेको भन्दै उनीहरुले न्यायको माग गरेका छन् । तत्कालीन स्वर्गीय श्री ३ बडामहारानीको जग्गाले चर्चेको उक्त स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्डहल बनाउने भन्दै शिलान्यास गरेको छ । नगरपालिकाको यो कदमको चौतर्फि आलोचना पनि शुरु भएको छ । बुटवलमा क्रियाशिल राजनितीक दलहरु, मानवअधिकारकर्मीहरु तथा संघ संस्थाहरुले पनि मानवीय व्यवहार प्रर्दशन गर्न नगरपालिकालाई आग्रह गर्दै तत्काल वैकल्पिक व्यवस्था गर्न नगरपालिकालाइृ दबाब दिएका छन् ।