बुटवल –प्रदेश ५ को सरकारको आगामी आर्थिक वर्ष २०७६।७७ को बजेट वहुमतले पारित भएको छ ।प्रदेश सभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथिको छलफल पछि आर्थिक वर्ष २०७६÷०७७ को बजेट बहुमतले पारित गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले यही असार १ गते ३६ अर्व ४१ करोड रुपैयाको बजेट प्रदेश सभामा पेश गरेका थिए ।
विधेयकमाथिको छलफलमा सहभागि हुदै नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेशसभामा सत्ता पक्ष र प्रतिपक्ष नभनी सहमति र सहकार्य गरेर अगाडि बढ्न सके प्रदेश समृद्ध बन्न सक्ने बताए ।प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कृषिलाई प्रदेशको समृद्धिको मुख्य आधार मानेको प्रदेश सरकारले कृिष आयमा कर लगाउनु उचित नहुने बताए ।
नदिजन्य पदार्थको कर प्रदेशले ६ रुपयाँ तोकेकोमा स्थानीय तहले मनोमानि रुपमा कर लगाउदा उपभोक्ता मर्कामा परेको भन्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य तारा जिसीले जनताबाट उठाइएको कर दुरुपयोग हुन नहुने भन्दै कर तिरे वापत राज्यले जनतालाई सेवा सूबिधा दिनुपर्ने र जनताले तिरेको कर जनमुखी काममा लगाउनुपर्ने बताइन् ।विधेयकमाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशले सहमति र सहकार्यको नयाँ संस्कारको विकास गर्न सफल भएको भन्दै प्रमुख प्रतिपक्षी लगायतका बिपक्षी दलका सांसदहरुलाई धन्यवाद दिए ।आगामि दिनमा पनि सहमति र सहकार्यबाटै अगाडी बढ्ने बताउदै उनले कृषि आयमा लगाइएको आय कर बाध्यात्मक नभएको प्रष्ट पारे ।आम्दानीलाई बैधानिक बनाउनका लागि कृषि आयमा कर लगाउने निर्णय गरिएको र सो बाध्यात्मक नभएको उनले बताए ।