रिब्दीकोट गाउँपालिकाको बजेट पारित

प्रकाशित मिति:

रिब्दीकोट गाउँपालिकाको आ.व. ०७६।०७७ को बजेट पाँचौ गाउँसभाको दोस्रो बैठकबाट पारित भएको छ । गाउँपालिकाले आ.व. ०७६।०७७ का लागि कुल ४८ करोड ८२ लाख ५६ हजार ३ सय १२ को अनुमानित बजेट असार ६ गते गाउँसभा बैठकमा पेश गरेको थियो । दोस्रो बैठकले छलफल सहित बजेट पारित गरेको हो । गाउँपालिकाले आफ्नो वडा आफै बनाऊँ अभियान अन्तर्गत ८ वटा वडा कार्यालयलाई एकमुष्ट कुल ५ करोड २६ लाख विनियोजन गरेको छ ।

एक घर एक धाराको नीति लिई सबै घरधुरीमा पानीको धारा पुयाउने लक्ष्य अनुरुप लिफ्टिङ खानेपानी आयोजनाका लागि कुल १ करोड ३ लाख विनियोजन गरेको छ । त्यसैगरी कृषि क्षेत्रका लागि संघीय सरकारको सशर्त अनुदान १६ लाख ४५ हजारको अतिरिक्त ९९ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले कृषि तथा पशुपालनतर्फ आकर्षित गर्ने उद्धेश्यले दुध उत्पादनमा प्रति लिटर रु.१ र टमाटर उत्पादनमा प्रति किलो १ रुपैयाँदेखि २.५० रुपैयासम्म अनुदान दिन समेत बजेट विनियोजन गरेको छ । गाउँपालिकाले मुटु रोग, क्यान्सर जस्ता असाध्य रोगवाट ग्रसित रोगीलाई ४ हजार दिईँदै आएकोमा आगामी आ.व.देखि २ हजार थप गरी ६ हजार आर्थिक सहायता दिने घोषणा गरेको छ । सुत्केरी आमाहरुलाई दिइदै आएको अतिरिक्त भत्ता रु.१५०० लाई समेत निरन्तरता दिईएको छ ।

गाउँपालिकाभित्रका एतिहासिक महत्वका सम्पदाहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गरी पर्यटकीय स्थलको रुपमा चिनाउन भैरवस्थान–रिब्दीकोट–जलेश्वर क्षेत्रलाई समेटी वि.स. २०७७ लाई रिब्दीकोट पर्यटन वर्ष मनाउने घोषणा गरी बजेट विनियोजन गरेको छ । त्यसै गरी भैसी, पाडी, बाख्रा तथा बंगुर पालनलाई प्रोत्साहन गर्न ४० लाख, कृषि पशुपालनको यान्त्रिकीकरणका लागि १५ लाख, गाउँपालिकाको हिल रिङरोड निर्माण गर्न ७ लाख, कृषि उपज संकलन केन्द्रका लागि ६ लाख, जातीय विभेद अन्त्यका लागि ५ लाख, अति विपन्न कुमाल समुदायका वालवालिकाको वाहुल्यता रहेको जोगीथुम स्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा स्वरुप ७ लाख, शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मापदण्डमा आधारित सहयोगका लागि ३५ लाख ५० हजार विनियोजन गरिएको छ ।

पानीका मूल संरक्षण गर्ने उद्धेश्यले एक वडा बहु पोखरी निर्माण गर्ने कार्यलाई निरन्तरता दिन ५ लाख विनियोजन गरिएको छ भने गतवर्ष खरको छानामुक्त हुन बाँकी घरहरुलाई टिन उपलब्ध गराई खरको छानामुक्त गाउँपालिका बनाउन १४ लाख विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको समानान्तर हुने गरी रिब्दीकोट रोजगार कार्यक्रम सञ्चालन गर्न रु. २० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आ.व. ०७५।०७६ का लागि कुल ४२ करोड ८८ लाख ७७ हजारको बजेट प्रस्तुत गरेको थियो, जसमध्ये जेष्ठ मसान्तसम्ममा पुँजीगत खर्चतर्फ ८३.४५ प्रतिशत र चालु तर्फ ७८.७९ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा बैशाख मसान्तभित्र पुँजीगत तर्फको बजेट खर्च गरिसक्ने नीति अंगीकार गरी सोही अनुरुप बजेट कार्यान्वयन गर्ने निर्णय गरेको छ ।