इरानविरुद्ध अमेरिका कठोर बन्दै, इरानी सर्वोच्च नेता खमेनीविरुद्ध नै नाकाबन्दी घोषणा

प्रकाशित मिति:

वाशिंटन डीसी – अमेरिकीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीसहित अन्य वरिष्ठ अधिकारीविरुद्ध नाकाबन्दीको घोषणा गरेको छ । इरान र अमेरिकाबीच तनाव उत्कर्षमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खमेनीसहितका अधिकारीविरुद्ध नाकाबन्दीको कार्यकारी आदेशमा हस्ताक्षार गरेका हुन् । पछिल्लो नाकाबन्दी सर्वोच्च नेता खमेनी र खमेनीको कार्यालयसँग नजिक रहेका अधिकारीलाई लक्षित गरिएको जनाइएको छ । अमेरिकी अर्थमन्त्री स्टिभन मनुचिनले नयाँ नाकाबन्दीले इरानको दशौं करोड डलर बराबरको सम्पत्ति रोक्का हुने जनाएका छन् । इरानले हालै अमेरिकी सैनिक ड्रोन खसालेको बदलामा पछिल्लो नाकाबन्दीको घोषणा गरिएको राष्ट्रपति ट्रम्पले जनाएका छन् । इरानमाथि अधिकतम दबाबको नीतिअन्तर्गत पछिल्लो नाकाबन्दीको घोषणा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले इरानका सर्वोच्च नेतालाई लक्षित गरी यसअघि कुनै पनि किसिमको नाकाबन्दीको घोषणा नगरेकाले पछिल्लो घोषणालाई निकै महत्वका साथ हेरिएको छ । यता इरानले भने अमेरिकी नाकाबन्दीबाट अमेरिकासँगको सम्बन्ध सुधारका लागि कुनै पनि किसिमको कुटनीतिक ढोका बन्द भएको टिप्पणी गरेको छ ।