विप्लवको बन्दमा ३३ जिल्लामा ५३ घटना : कुन जिल्लामा के भयो (विवरणसहित)

प्रकाशित मिति:

काठमाडौं – विप्लव समूहले आह्वान गरेको बन्दका दिन आज अहिलेसम्म मुलुकका बिभिन्न जिल्लामा ५३ घटना भएका छन । कतै बम भेटिएका छन् भने कतै शंकास्पद बस्तु भेटिएका छन । आगलागी र पक्राउका घटना पनि छन । नेपाल प्रहरीका अनुसार काठमाडौं उपत्यकाका भक्तपुर, जावलाखेल, सुकेधारा, कीर्तिपुरसहित चार ठाउँ तथा उपत्यकाबाहिर धादिङ, नुवाकोट, कास्कीलगायत जिल्लामा शङ्काष्पद वस्तु फेला परेका हुन्। विप्लव समूहले सर्वसाधारणमा त्रास फैलाउन त्यस्ता वस्तु सडकमा राखेका हुन्।

त्यसैगरी कीर्तिपुर नयाँबजार गेटमा राखिएको बम नेपाली सेनाको टोलीले मंगलबार बिहान ‘डिस्पोज’ गरेको छ। नयाँबजार गेटमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि पुगेको सेनाको टोलीले उक्त वस्तु बम भएको निष्कर्षसहित डिस्पोज गर्नतिर लागेको थियो। केही समयको प्रयासपछि बम डिस्पोज गरिएको थियो।

आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेललाई मुठभेडका नाममा प्रहरीले हत्या गरेको दाबीगर्दै विप्लव समूहले आज विरोधमा देशभर बन्द आह्वान गरेको छ। बन्दको प्रभाव राजधानी काठमाडौंसहित देशभर परेको छ। राजधानीमा आंशिक प्रभाव रहे पनि काठमाडौं बाहिर भने बन्दको प्रभाव देखिएको छ। बन्दका कारण शैक्षिक संस्थाहरू पूर्णरूपमा ठप्प छन् भने सार्वजनिक यातायातका साधन पनि खासै चल्न सकेका छैनन्।

कुन जिल्लामा के घटना ? विवरणमा हेर्नुहोस्

जाउलाखेलमा कापीकिताब भएको ब्याग – ललितपुरको जाउलाखेलमा आज बिहान बम भएको आशंकामा डिस्पोज गरिएको झोला एक विद्यार्थीको रहेको खुलेको छ। जाउलाखेलको प्रेरा कम्प्लेक्सको भुईंतलाको उत्तरतर्फ रहेको आयुषा फास्टफुडको पेटीमा भेटिएको शंकास्पद झोलालाई जाउलाखेल फुटबल ग्राउन्डमा लगेर डिस्पोज गरिएको थियो। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको निगरानीमा डिस्पोज गरिँदा उक्त झोलामा नवप्रभात माध्यमिक विद्यालय पुल्चोकमा कक्षा ९ मा अध्ययनरत छात्र निशान काफ्लेका किताव, कापी पाइएको थियो। प्रहरीका अनुसार मंगलबार वेलुका काफ्ले ठेलागाडामा सामान बेच्ने आमासँगै त्यही बसेका थिए। घर फर्कने क्रममा उनले ब्याग त्यही बिर्से। मंगलबार उनले झोला छुटेको सम्झिँदासम्म सेनाले बम ठानेर डिस्पोज गरिसकेको थियो।

मोरङ र झापामा शंकास्पद बस्तु – मोरङ र झापाका दुई स्थानमा शंकास्पद बस्तु बम फेला परेका छन्।मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा प्रेसर कुकर बम फेला परेको छ। रातो कपडाले बेरेर राजमार्ग किनारमा राखिएको उक्त बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल गइसकेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘रातो कपडाले बेरेर राखेको अवस्थामा प्रेसर कुकर भेटिएकाले त्यसलाई डिस्पोज गर्न सेनाको एयरपोर्टस्थित ब्यारेकबाट टोली खटिएको छ,’ अधिकारीले भने।
यस्तै, झापाको माइखोलामा शंकास्पद बस्तु ‘बम’ भएको आशंकामा नेपाली सेना घटनास्थलतर्फ गएको छ। प्रहरीका अनुसार माइखोलाको पुलमै शंकास्पद बस्तु झारिएको छ। उक्त वस्तु बम भएको आशंकामा सेनाको डिस्पोजल टोली त्यहाँ गएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

मेयरको घरमा राखेको बम निष्क्रिय पारियो  -नुवाकोटको विदुर नगरपालिका मेयर सन्जु पण्डितको घरको कम्पाउण्ड राखेको बम निष्क्रिय पारिएको छ । विदुर–९ कोलनी विजुलास्थित मेयर पण्डितको घरको कम्पाउण्ड पर्खालमा प्रेसर कुकर बम राखिएको थियो । ‘सुतिरहेका थियौं । प्रहरीले आएर बम राखेको बताएपछि थाहा पाइयो,’ मेयर पण्डितले भने ।

सोमबार राति १२ बजे कम्पाउण्ड पर्खालमा पड्काउन बम राखेको र ७० मिटर टाढा बिजुलीको मेन लाइनमा तार जोड्न तयारी भएको अवस्थामा प्रहरीले देखेपछि एक व्यक्ति भागेपछि बम पड्किन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताए । उक्त बम नेपाली सेनाको जबरजंग गणको डिस्पोजल टोलीले मंगलबार बिहान डिस्पोज गरेका थिए । बम राखिएपछि कोलनी, त्रिशूली, सदरमुकाम विदुर क्षेत्र आतंकित भएको छ । बन्दका कारण जिल्लामा शैक्षिक संस्था, त्रिशूलीबजार, बट्टार लगायत आंशिक मात्र खुलेका छन् । लामो दुरी चल्ने बस र निजी गाडी बन्द छन् ।