नवाली टोलमा मचा टी जात्रा मनाइँदै

प्रकाशित मिति:

काठमाडौं – जयबागेश्वरी नवाली टोलमा मचाः टी (त्रिशूल) जात्रा शुरु हुँदैछ । मंगलबार (आज) साँझ पौने ६ बजे जात्रा शुरु हुने नवाली टोलका अध्यक्ष शंकरबाबु संगतले जानकारी दिए । नवाली टोलको अध्यक्ष नै मचाः टी (त्रिशूल) जात्रा सञ्चालक समितिको अध्यक्ष हुने चलन भएकाले त्रिशूल जात्राका सञ्चालक पनि संगत नै हुन् ।

पाशुपत क्षेत्र, देवपतन र जयबागेश्वरी नवाली टोलमा जात्रा निकालिने गर्छ । त्रिशूल जात्राको विशेषता भनेको ३ जना बालबालिकालाई त्रिशूल रोपिन्छ । जात्रा शुरु हुनु ४ दिनअघि देखिनै तान्त्रिक विधिबाट पहिले बालबालिकालाई मन्त्र पढेर चोखो गराइन्छ । जात्रा जयवागेश्वरी नवालीटोल,सिफल हुँदै पशुपति आर्यघाटमा पुगेर समापन हुन्छ ।

स्वयम्भूबाट आएका राक्षसहरुले नवाली टोलका बच्चाहरु खाएको किंवदन्ती पाइन्छ । त्यसरी स्वयम्भुबाट आएका राक्षसहरुलाई आफ्नो बच्चा खाए तिम्रो बच्चालाई पनि त्यस्तै गर्छौ भनेर देखाउन जात्रा मनाउने गरिएको संगतले बताए । यो जात्रामा ३ बालबालिकालाई त्रिशूलले खोपिन्छ । जसमा २ बालिका र एक बालक हुन्छन् । त्रिशूल जात्रा प्रत्येक वर्ष मलमल अष्टमी (असारको पहिलो अष्टमी) मा मनाउने गरिएको नवाली टोलका स्थानीय युवा रोशन शाहीले बताए । यो जात्रामा नवाली टोलका मानिसहरुले आफ्ना बालबालिकालाई दु:ख दिने राक्षसलाई लुकाएको भन्दै असनको मानिसलाई गालीसमेत गर्ने गर्छन् ।