गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुसभित्रै संचालनमा ल्याइनेछ : अर्थमन्त्री खतिवडा

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुस महिनाभित्रै संचालनमा आउने दाबी गरेका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै मन्त्री खतिवडाले पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको बताए।पर्यटन पूर्वाधार निर्माण र नयाँ पर्यटकीय गन्तव्य विस्तारका लागि पर्याप्त बजेट छुट्याएको बताएका हुन्। ‘संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटमा पर्यटन पुर्वाधार नै पहिलो प्राथमिकता हो।

२० लाख पर्यटन भित्र्याउन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षको पुष मसान्तसम्ममा टर्मिनल भवन निर्माणसमेत सम्पन्न भई व्यवसायिक उडान सुरु भइसक्नेछ। ‘त्यसैगरी, पोखरा विमानस्थल २ वर्षभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए। निजगढ विमानस्थल सार्वजनिक–नीजि साझेदारीमा अगाडि बढाउने गरी काम भईरहेको छ,’ अर्थमन्त्री खतिवडाले भने।

निर्माणाधीन आन्तरिक हवाई मैदानहरु, नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको सेवा विस्तार, हिमाली सम्पदाहरुको संरक्षणका लागि पनि बजेटले विषय उठान गरिएको उनले बताए । हवाई सुरक्षा सम्बन्धी विषयलाई पनि बजेटले समावेश गरेको छ। हाम्रा राडारहरुका क्षमता विस्तार, युरोपेली संघको कालोसूचीमा रहेको नेपालको हवाई क्षेत्र लाई सुधार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमता विस्तारका लागि जोड दिइएको छ।