अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान चम्केपछि जित्नैपर्ने खेलमा इंग्ल्यान्डलाई दबाब

प्रकाशित मिति:

अष्ट्रेलियाका ओपनर ब्याट्सम्यानले अर्धशतक पूरा गरेसँगै इंग्ल्यान्ड दबाबमा परेको छ। टप ४ मा रहनका लागि आजको खेल जित्ने लक्ष्यसहित मैदानमा ओर्लिएको इंग्ल्यान्डले २३औं ओभरमा एक विकेट लिन सफल भयो तर ओपनिङ ब्याट्सम्यान डेबिड वार्नरले ५३ रनको योगदान दिएर बाहिरिए।

ओपनिङमै ब्याटिङ गर्न आएका आरोन फिन्च २८ ओभरको समाप्तिमा ८२ रनसहित क्रिजमा टिकिरहेका छन्। यससँगै अष्ट्रेलियाले १ सय ५५ रन बनाएको छ। ६ वटा खेलमा ५ खेल जितेर १० अंकसहित दोस्रो नम्बरमा रहेको अष्ट्रेलिया बिना दबाब खेलिरहेको छ। उसले टिममा समेत केही फेरबदल गरेको छ। नाथन कूल्टर नाइल र एडम जाम्पाका ठाउँमा जेसन बेहरेनडोर्फ र नाथन लियोनलाई उतारेको छ।

आइसिसी वर्ल्ड कप-२०१९ को आजको खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेको हो। इंग्ल्यान्डका लागि आजको खेल निकै महत्वपूर्ण छ। ६ खेलमा ४ जित र २ हार बेहोरेको टिम चौथो स्थानमा छ। विश्वकपको प्रबल दाबेदार मानिएको इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुनिश्चित गर्न बाँकी रहेका तीन मध्ये २ खेल जित्नैपर्नेछ। तर इंग्ल्यान्डका अघि बलिया टिम मात्रै छन्। अष्ट्रेलियापछि उसले एक नम्बरमा रहेको न्युजिल्यान्ड र तेस्रो नम्बरमा रहेको भारतको सामना गर्नुपर्नेछ। अस्ट्रेलियाले अहिलेसम्म दमदार प्रदर्शन गरिरहको छ।