‘मालिका’ निर्माता पक्राउ परेपछि रेखाको सरकारप्रति आकोश

प्रकाशित मिति:

काठमाडौँ -सोमबार साँझ बालुवाटारबाट आफू निर्देशित तथा अभिनीत फिल्म ‘मालिका’ का निर्माता तथा लेखक नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेपछि अभिनेत्री रेखा थापाले सरकारप्रति आक्रोश पोखेकी छन् । उनले राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखेको फेसबुकमा लेखेकी छन् । कार्की प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।

अभिनेत्री रेखा लेख्छिन्, ‘सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर, भर्खरै मारौंला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’ सामाजिक विषयको बारेमा छलफल गर्दा कार्कीलाई विप्लव समर्थक भन्दै पक्राउ गर्नु नालायक र पाखण्ड रहेको रेखाको तर्क छ । उनी प्रहरीप्रति आक्रोश पोख्दै लेख्छिन्, ‘सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधीलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे रु यो जस्तो नालायक र पाखण्ड जवाफ अरु के हुन सक्छ रु’ सरकारलाई प्रश्न गर्दै उनी अगाडि लेख्छिन्, ‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो

फिल्म ‘मालिका’ पछि नरबहादुर र रेखा निकै नजिक छन् । प्रायः नरबहादुरले फेसबुकमा सरकारप्रति लक्षित गरेर लेखेका स्टाटस र मिडियामा दिएका अन्तर्वार्ता रेखाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै आइरहेकी थिइन् । गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गर्दा नरबहादुरलाई रेखाले फेसबुकमार्फत् बधाई समेत दिएकी थिइन् । ‘मालिका’ निर्माता कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो । सरकारले गएको फागुन २८ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।