विनियोजन विधेयक पुग्यो राष्ट्रिय सभामा, प्रस्ताव स्वीकृत

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय सभाको बुधवारको बैठकले ‘विनियोजन विधेयक २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । राष्ट्रिय सभाको बुधवारको बैठकमा ‘विनियोजन विधेयक २०७६’ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताए । उनले बजेटले आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिएको र आत्मनिर्भर अर्थतन्त्रको उन्नयनमा बजेट केन्द्रित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षामा समेत बजेट वृद्धि गरी लोककल्याणकारी राज्यको अवधारणा समेत अगाडि बढाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले भने, ‘सो कार्यक्रममा कुनै अनियमितता भएको छैन । आगामी दिनमा झन् प्रभावकारी रुपमा अगाडि बढ्छ । कुनै द्विविधा नराख्नुस् ।’ कार्यक्रमको ध्येय सार्वजनिक निर्माणमा श्रम गर्न चाहने श्रमिकले काम पाऊन् भन्ने रहेको उल्लेख गर्दै उनले ७ सय ५३ वटै स्थानीय तहमा प्रभावकारी रुपमा नै यो अगाडि बढ्ने बताए । शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता सामाजिक क्षेत्रमा सरकारको लगानी वृद्धि हुँदै गएको, संघीय सरकारले यी क्षेत्रलाई विगतमा भन्दा बढी बजेट उपलब्ध गराएको तथा प्रदेश र स्थानीय सरकारले विनियोजन गरेको बजेटको मात्रा हेर्दा सन्तुष्ट हुने अवस्था रहेको उल्लेख गरे । एकीृकत रुपमा ती क्षेत्रमा विनियोजित बजेट नहेरी अनावश्यक टिप्पणी नगर्न समेत उनले सांसदलाई आग्रह गरे ।

समतामूलक विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने आगामी आर्थिक वर्षको बजेटको लक्ष्य रहेको बताउँदै उनले सरकारका नीति, कार्यक्रमअनुसार बजेट विनियोजन गरिएको जिकिर गरे । ‘मौलिक हक कार्यान्वयन गर्न आगामी बजेटले प्राथमकिता दिएको छ । बजेट वितरणमुखी नभई व्यावहारिक र कार्यान्वयनमुखी छ,’ अर्थमन्त्रीले भने । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका छलफल र छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ यही असार १५ गतेदेखि २४ गतेसम्म दिने कार्यसूची रहेको राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते बिहान ११ बजे बस्ने छ ।