विप्लवका कार्यकर्ताद्धारा गाउँपालिका कार्यालयमा आगजनी

प्रकाशित मिति:

कालिकोट – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजानी गरेका छन् । असार १० गते राति एक बजे कुमालगाउँमा रहेको गाउँपालिका कार्यालयमा आएको समूहले कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन् ।

कालिकोटका प्रहरी प्रमुख डीएसपी विनोद शर्माले विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जानकारी दिनुभएको छ । उहाँका अनुशार आगलागि भएको जानकारी भएपछि इलाका प्रहरी र स्थानीय नागरिकले नियन्त्रणमा लिएका थिए । आगजनीवाट गाँउपालिकाको भौतिक संरचना र अभिलेख नष्ट भएको छ । प्रहरी प्रमुख शर्माका अनुसार सोही गाउँपालिका–६ माल्कोटको वडा कार्यालयका कागजात जलाएका छन् । साथै वडा नम्वर –५ रुप्सामा रहेको वडा कार्यालयका कागजातहरु नेकपाका कार्यकर्ताले जलाएका छन् । वडा कार्यालयहरु स्थानीय नागरिकहरुको घरको भाडामा भएकाले भवन जलाई कार्यालयमा भएका कागजातलाई खुला ठाउँमा ल्याएर जलाएका छन् ।

नरहरीनाथ गाँउपालिका उपाध्यक्ष मनसोभा बुढाले भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेका बेला साविकको गाविसको सामान्य भवन पनि जलाएपछि सेवा प्रवाह गर्न थप समस्या भएको बताउनुभएको छ । आगलागिमा संलग्नहरुको तीब्र रुपमा खोजी गर्न जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वको टोलीले नरहरीनाथमा अप्रेशन सुरु गरेको छ । असार १० गते पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन गाउँपालिकाले गाउँसभा चलाएकोले आगो लगाएको विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनिलाल एडिले वताउनुभयो ।