आफै रकम जुटाएर तिलोत्तमा मेयर कप फुटबल आयोजना

११ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
76 Shares


टोपराज शर्मा -बुटवल /हालसालै स्थापना भएको तिलोत्तमा फूटबल एकेडेमीले संस्थाको पहिचान र फुटबल खेलको विकासका लागि खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने सोंच अघि सार्यो । जसका लागि कम्तीमा १५ लाख रुपैयां आवश्यक पथ्र्यो । तर संस्थाको कुनै आय स्रोत थिएन । आर्थिक पक्ष शुन्य जस्तै थियो । तर जहां इच्छा, त्यहां उपाय भने झंै एकेडेमीका पदाधिकारी र सदस्यले आफूहरुबाटै स्वेच्छिक रकम संकलन गरेर प्रतियोगिताको तयारी शुरु गरे ।

तिलोत्तमाका मेयर बासुदेव घिमिरेले पनि तपाईहरु अघि बढ्नुस, व्यक्तिगत र नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने आश्वासन दिए । जसले एकेडेमीका पदाधिकारीमा हौसला थपेको र फुटबलप्रेमी एवं खेलप्रेमीहरुसंग सहयोग जुटाएर प्रथम तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता गर्ने निश्चित गर्न सफल भएको एकेडेमीका अध्यक्ष तिलक नेपाली बताउंछन् । ‘हामीसंग कुनै आय स्रोत थिएन,तर नगरपालिका स्तरबाटै खेलाडी उत्पादन गर्नुपर्छ र खेलको विकास गर्नुपर्छ भनेर अघि बढ्यौं’–नेपालीले भने–‘केही रकम हामी आफै उठायौं र बांकी सहयोग मागेर प्रतियोगिता सम्पन्न गर्ने अवस्थामा आइपुग्यौं ।’

आर्थिक जोहो भएपछि एकेडेमीको आयोजनामा यही असार १३ गतेदेखि तिलोत्तमाको वडा नम्वर १स्थित चप्परहट्टी खेल मैदानमा प्रतियोगिता संचालन हुने निश्चित भएको एकेडेमीका महासचिव युवराज पराजुलीले बताए । प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका १६ टिमकोको सहभागिता रहने खेल संयोजक घनश्याम श्रेष्ठले बताए । असार २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा जिल्ला बाहिरका टीमलाई प्रति टीम २ हजार रुपैया यातायात खर्च र प्रत्येक पटक जित्ने टीमलाई २ हजार रुपैया प्रोत्साहन रकम दिइने महासचिव युवराज पराजुलीले बताए । प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट खेलाडीलाई बिशेष पुरस्कार दिइने छ ।

साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरिएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ । उत्कृष्ट खेलाडीलाई पुरस्कार सौजन्य तिलोत्तमाको योगिकुटीस्थित गुड टाइम फेमिली रेष्टुरेण्टले गर्ने सञ्चालक पराजुलीले बताए । खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपागंता भएका व्यक्तिहरुलाई निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ । एकेडेमिले अब प्रत्येक वर्ष तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता सहित बिभिन्न प्रतियोगिताको आयोजना गर्ने बताएको छ । एकेडेमीले फुटबल खेलाडीलाई प्रशिक्षणका लागि खेल मैदान र छात्रवासको लागि नगरपालिकासंग सहयोगको अपेक्षा गरेको र नगरपालिका सकारात्मक रहेको अध्यक्ष नेपालीले बताए । प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै एकेडेमीका सल्लाहकार एवं जनप्रतिनिधि तेजबहादुर गुरुङले नगरपालिकामा पहिलोपटक आयोजित मेयर कप प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग चाहिने धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया