घरबहाल महासंघको पत्रकार सम्मेलन, बहालमा बस्नेहरु माथि अन्याय भैरहेको गुनासो

प्रकाशित मिति:

बुटवल –बुटवल लगाएतका शहरमा घर तथा शटर आदी भाडामा लिएर ब्यापार व्यवसाय गर्ने तथा बसोवास गर्नेहरुले दोश्रो दर्जाको नागरिकको अवस्था ब्यहोर्नु परेको बताएका छन । आज बुटवलमा आयोजित नेपाल घरबहाल महासंघको पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष शंकर कोईरालाले लाखौं रुपैया तिरेर भाडामा बस्ने ब्यबसायीहरु घरधनीहरुको व्यवहारले पीडित हुनु परेको गुनासो समेत गरेका छन् ।

घरबहालमा बस्नेहरुको अधिकारको बारेमा कुरा उठाउने निकायको अभावमा आफुहरु हेपिने गरेको उल्लेख गर्दै उनिहरुले भाडामा बस्नेहरुलाई घरधनिले दोश्रो दर्जाको नागरिकको व्यवहार गर्ने गरेको गुनासो गरेका हुन् । बेलाबेलामा घरधनिहरुले मनोमानी ढंगले भाडा बढाएका कारण व्यवसाय चलाउनेहरु विस्थापित हुने अवस्था आएको बताउदै उनीहरुले अन्यायमा परेका बहालवालाहरुको सुनुवाई गर्ने निकाय नहुँदा समस्या भैरहेको समेत बताए ।

भाडामा बस्ने नेता, सासंद, कानुनविद् , उद्योगपति, विद्यार्थी, कर्मचारी, पत्रकार र मजदुरहरु पनि घर धनिहरुको व्यवहारबाट पींडित हुनुपरेको चर्चा गर्दै यसबाट कोही अछुतो नरहेको भएपनि संगठित हुन नसक्दा घरधनीहरुको हेपाहा प्रबृती हावी भएको जिकिर गरे । सो अवसरमा नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ भण्डारीले राष्ट्रिय घरबहाल ऐन नभएको र भएको कानुन पनि कार्यान्वयन नभएकाले समस्या जटिल बनेको बताए । घरबहालमा बस्नेहरुलाई राज्यले पनि उपेक्षा गरेको र घरधनीबाट नभै भाडामा बस्ने व्यवसायीबाट कर मात्र असुल्ने गरेको उनले बताए । सरकारलाई घरधनीको घर बहाल कर र घर धनिलाई भाडा बुजाउनुपर्ने दोहोरो मारमा पर्नुपरेको उनको गुनासो छ । देशमा राजनैतिक परिवर्तनसंगै लोकतान्त्रीक गणतन्त्र आएपनि सरकारले घरबहाल ऐन बनाउन नसकेकाले समस्या जटिल बन्दै गएको उनीहरुको भनाई छ । संघका जिल्ला अध्यक्ष राजु लिगलले घरबहाल सम्बन्धी समस्या बिकराल बन्दै गैरहेको भन्दै स्थानिय सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता माथि जोड दिएका छन ।