नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका कांग्रेस कार्यकर्तालाई भेट्न अस्पताल पुगे पौडेल

प्रकाशित मिति:

काठमाडौं – खानेपानी मन्त्री बिना मगरलाई कालो झन्डा देखाउने क्रममा भएको झडपमा घाइते भएकालाई भेट्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्पताल पुगेका छन् । गृहजिल्ला तथा आफ्नो चुनावी क्षेत्र कञ्चनपुरको पुनर्वास पुगेकी मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

कालो झण्डा देखाउन गएका कांग्रेस कार्यकर्ता नेकपा कार्यकर्ताको आक्रमण पछि घाइते भएका थिए । घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएको गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई भेट्न कांग्रेस वरिष्ठ नेता पौडेल बिहीबार बाँसबारीस्थित न्युरो अस्पताल पुगेका हुन् ।

घाइते कार्यकर्ता भेट्न अस्पताल पुगेका नेता पौडेलले प्रहरी प्रशासनको आडमा सत्तामा रहेको दलले गुण्डागर्दीको शैली अपनाएको बताए । लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जनताको हकको पनि ख्याल नगरी सत्ताको उन्मादमा रहेकाहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको पौडेलको भनाइ थियो ।