निर्माण व्यवसायीको गुनासो : अलकत्रा अभावले सडक निर्माण प्रभावित

प्रकाशित मिति:

सबलपोष्ट । भारतबाट आयात हुने बिटुमिन (अलकत्रा) को अभावले सडक निर्माण कार्य प्रभावित भएको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले तत्काल बिटुमिनको सहज आपुर्तिको व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् । बिटुमिन र मट्टितेल विना सडक निर्माण कार्य अघि बढ्न नसक्ने भन्दै व्यवसायीहरुले प्रदेश ५ मा असार मसान्तसम्मका लागि ५ हजार ट्रक बिटुमिन आवश्यक पर्ने बताए । विगतको तुलनामा अहिले १० प्रतिशत मात्र बिटुमिन आयात हुने गरेको निर्माण व्यवसायी संघ लुम्बिनी बुटवल शाखाका अध्यक्ष मोहनकुमार जोशीले बताए । व्यवसायीहरुले बजारमा मट्टितेलको पनि उस्तै अभाव रहेको दावी गरेपनि नेपाल आयल निगमले भने मट्टितेलको अभाव नरहेको स्पष्ट पारेको छ ।

व्यवसायीका अनुसार भारतमा बिटुमिन उत्पादन गर्ने उद्योगले अहिले उत्पादन बन्द गरेका कारण नेपालमा आयातमा भारी मात्रामा गिरावट आएको हो । आयात कम हुंदा तेब्बर बढी मूल्य तिरेर भएपनि ल्याउन वाध्य भएको व्यवसायी ज्ञानबहादुर पुनले बताए । ‘१५ दिन अघि ७० रुपैया लिटर मूल्यमा पाइने बिटुमिन अहिले सय रुपैयां तिर्दा पनि पाइएको छैन’–निर्माण व्यवसायी जविन कक्षपतिले भने–‘सरकारले तत्काल सहज आपुर्ति व्यवस्था नमिलाए देशभरको सडक निर्माणको काम अघि बढ्दैन ।’ भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले पनि विगतको तुलनामा बिटुमिनको आयात कम भएको स्वीकार गरे । तेस्रो मुलुकबाट आयात गरेको बिटुमिनलाई भारतीय व्यवसायीले भारतमा बनेको भनेर नेपालमा विक्रि गरेको विषय बाहिर आएपछि विभागले त्यसबारे छानवीन थालेकाले पनि आयातमा कमी आएको हुन सक्ने भट्टराईले बताए । माग अनुसार बिटुमिनको आयात हुन नसके असार मसान्तसम्मको म्यादमा निर्माण कार्य पूरा हुन नसक्ने व्यवासायीको भनाई छ । बिटुमिन र मट्टितेल अभाव भएको भन्दै व्यवसायीले प्रदेश ५ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई जानकारी गराएका छन् ।

माग अनुसारको बिटुमिन उपलब्ध नभएमा सरकारले ठेक्का सम्झौताको म्याद थपिदिनुपर्ने संघका पुर्व अध्यक्ष यदु पाण्डेले बताए । नेपाल आयल निगम भलबारी डिपोका व्यवस्थापक शैलेन्द्र भुसालले भने मट्टितेलको कुनै अभाव नभएको स्पष्ट पारे । ‘व्यवसायीले भने जस्तो मट्टितेलको कुनै अभाव छैन,जति चाहिएपनि हामी दिन सक्छौं’–भुसालले भने । व्यवसायीहरु ज्ञानबहादुर पुन रमेश बेल्बासे, विजय श्रेष्ठ,राजन ज्ञवाली लगायतले बुटवल उपमहानगरपालिका लगायतका सरकारी कार्यालयहरुले काम पूरा गरेको लामो समयसम्म भुक्तानी नदिंदा मर्कामा परेको गुनासो गरे । सडक निर्माण सम्बन्धी प्राविधिक ज्ञानविनै निर्माण कार्यको गुणस्तरका बारेमा हचुवाको भरमा लाञ्छना लगाउने काम भएको पनि व्यवसायीले गुनासो गरेका छन् ।