विवाहपछि ड्राइभिङ गर्न छुट दिनुपर्ने: साउदी महिला

प्रकाशित मिति:

रियाद, एजेन्सी-  इस्लामिक देश साउदी अरेबियामा महिला अब आफ्नो सर्तमा विवाह गर्न थालेका छन्। विवाहपछि ड्राइभिङ, पढाइ–लेखाइ, काम गर्न र घुमफिर गर्ने स्वतन्त्रताका लागि उनीहरु पतिसँग सम्झौता गरिरहेका छन्।

विवाहपछि आफ्नो कृयाकलापलाई कुनै प्रकारको विवादबाट बचाउन उनीहरु यस प्रकारका सहमति गरिरहेका छन्। साउदी अरेबियामा दशकौंको प्रतिबन्धपछि महिलालाई गत वर्ष नै गाडी चलाउन पाउने अधिकार प्रदान गरिएको थियो। प्रतिबन्ध हटेपछि ड्राइभिङ लाइसेन्सका लागि ठूलो संख्यामा महिलाले दरखास्त दिए। सडकमा गाडी चलाउने महिलाको संख्यामा पनि वृद्धि भइरहेको छ। अहिले महिला सामान्य गाडी मात्र चलाइरहेका छैनन्, उनीहरुमा तिव्र गति र स्टन्टको पनि सौख देखिएका छन्।  सेन्सम्यानको काम गरिरहेका मज्दले आफू विवाहको तयारीमा रहेको र उनकी भावी पत्नीले यस प्रकारको अनौठो सर्त राखिन्। युवतीले विवाहपछि मज्दले उनलाई ड्राइभिङ तथा काम गर्न अनुमति दिनुपर्ने माग राखेकी थिइन्।

विवाहपछि उनको मागलाई बेवास्ता गर्न नसकून् भन्ने सुनिश्चित गर्न उनले विवाह सहमतिमा हस्ताक्षर नै गराएकी थिइन्। एक अन्य युवतीले पनि आफूसँग विवाह हुने केटासँग उसले कहिले पनि अर्को विवाह नगर्ने भन्ने प्रतिवद्धतामा सहमति गराएकी थिइन्। यस मामिलामा मौलवी अब्दुल मोहसेन अल अजेमीले केही युवती ड्राइभिङको मागलाई लिएर सहमति गराइरहेको बताए। उक्त सम्झौतापछि पति र घरका सदस्यले उनको ती चाहनालाई पन्छाउने वा रोक लगाउने गर्दैन। यदि विवाहपछि आफ्नो प्रतिवद्धताबाट पछाडि हट्छ भने महिलाले यसलाई आधार बनाएर सम्बन्ध विच्छेद पनि गर्न सकिन्छ।

इस्लामिक देशहरुमा प्रायः विवाहपछि महिलाको आवाज दबाइएका घटनाहरु बाहिर आइरहेका हुन्छन्। त्यसैले यस प्रकारको सहमति गर्ने चलन बढिरहेको छ।  यसैबीच एक सर्वेक्षणमा अरबमा आफू धार्मिक नभएको बताउनेहरुको संख्या तिव्र रूपमा बढिरहेको देखिएको छ। मध्यपूर्व र उत्तरी अफ्रिकाका १० देशका २५ हजारमा गरिएको उक्त सर्वेक्षणमा आफू धार्मिक होइन, भन्नेहरुको संख्या ८ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको उल्लेख गरिएको छ। विगत ३० वर्षमा यहाँ धार्मिक नभएको पहिचान बताउनेको संख्यामा १८ प्रतिशत वृद्धि भएको छ।