नेपाली कांग्रेसको वैठक असार २२ मा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी असार २२ गते बोलाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरूको निर्माणका लागि आवश्यक निर्णय लिने गरी आगामी बैठक बोलाइएको बताए। बैठकमा नेविसंघ, तरुण दललगायतका भातृ संगठनहरूको समिति बनाएर पार्टीलाई गतिशील ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने उनको भनाइ छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसेको पार्टी केन्द्रीय प्रतिनिधिहरूको बैठकमा पार्टीलाई गतिशील बनाउने गरी एकताबद्ध भएर अघि बढ्न पार्टी नेतृत्वलाई दबाब दिएपछि कांग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन बैठक बोलाउने भएको हो। प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको पनि स्पष्ट पारे।