ऐतिहासिक धरोहरको बेवास्ता

१३ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
218 Shares


देश समृद्ध बन्नका लागि नयाँ–नयाँ औद्योगिक विकास, नयाँ–नयाँ उत्पादन, नयाँ–नयाँ पर्यटकीय क्षेत्रको खोजी र विकास आवश्यक त हुन्छ नै तर यत्तिले मात्रै राष्ट्र समृद्ध बन्न कठिन छ । राष्ट्र वास्तवमा समृद्ध बन्न कला, संस्कृति, संस्कार, सभ्यताको विकास र संरक्षण आवश्यक हुन्छ । कला, संस्कृति, सभ्यता र साहित्यले संसारलाई प्रभावित गर्छन् । यस्ता कुरालाई बेवास्ता गरियो भने राज्यले विश्वसामु देखाउने चीज के होला ? अझ नेपाल जस्तो अति विपन्न र प्रविधिमा कमजोर राष्ट्रले यस्ता कुराको बेवास्ता गर्ने हो भने अस्तित्व जोगाउने केही कुरा पनि नहुन सक्छन् । नेपालमा आफ्नो विशेष मौलिकता झल्कने कला कौशल छन् ।

काठमाडौ उपत्यकामा काष्ठ कलाका बेजोड नमुना यत्रतत्र छन् । मठ, मन्दिर र चैत्यका विशिष्ट नमुना छन् । यी विशेष सम्पदाले नेपाललाई विश्वसामु चिनाउन विशेष मद्धत गरेका छन् । यी विशेष कला सम्पदाले नेपालको प्राचीन सभ्यताको परिचय दिइरहेका छन् । यस्ता कला, संस्कृति, सभ्यता नेपालका मात्रै सम्पदा होइनन् विश्वकै सम्पत्ति हुन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वभरका राष्ट्रमा भएका कला, सभ्यता तथा संस्कृतिदेखि प्राकृतिक सम्पदालाई विश्वकै सम्पत्तिका रूपमा विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरेको छ । नेपालको काठमाडौ उपत्यकामा रहेका ७ वटा विशिेष कला, संस्कृति र सभ्यतासँग सम्बन्धित क्षेत्रलाई युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको छ । उपतयका बाहेक लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई पनि विश्व सम्पदा सूचीमा राखेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका सम्पदाको संरक्षणमा उचित ध्यान दिन नसकेको वा बेवास्ता गरेको भन्दै तिनीहरूलाई खतराको सूचीमा राख्ने प्रताव यरेको छ । युनेस्कोले नेपालका सम्पदा संरक्षणमा बेवास्ता गरेको भन्दै पटक–पटक खतराको सूचीमा राख्ने चेतावनी दिंदै आएको थियो । नेपालकै कला, संस्कृति र सभ्यताका नमुना सम्पदाहरू कमजोर बन्दै जानु, संरक्षणमा बेवाता वा फेरबदल गर्न खोजिनुले देशको सभ्यता नै मेटिने खतरा छ । यतातिर राज्य तथा सबै क्षत्रले चासो नदिने हो भने यी ७ सम्पदादेखि अन्य विभिन्न महत्वपूण सम्पदा नष्ट हुने र नेपालको मौलिकता नै समाप्त हुने खतरा छ ।
ऐतिहासिक सम्पदा राष्ट्रका परिचय

ऐतिहासिक कला, संस्कृति, सभ्यताले देशलाई चिनाउँछन् । नेपालको पाशुपत सभ्यता अति प्राचीन सभ्यता हो । अर्को, नेपाल किराँत, लिक्ष्छवी, मल्ल, शाह काल जस्ता इतिहासका कालखण्डमा विभिन्न खालका मौलिक सभ्यता स्थापित भए । ती सबै कालण्डका कलाकौशल, संस्कृति, सभ्यता मिलेर अहिलेको नेपाली सभ्यता बन्न पुगेको हो । यी कालखण्डमध्ये लिक्ष्छवी र मल्लकाल कलाकौशलका लागि विशेष मानिन्छ । यिनै कालखण्डमा नेपालमा काष्ठ कलाको बेजोड नमूना विकास भएको देखिन्छ । यस कालमा प्यागोडा शैलीका विभन्न ऐतिहासिक मन्दिर, देवालय, सत्तल तथा ढुंगेधाराहरू बनेको देखिन्छ । चैत्यहरू बढी मात्रामा लिक्ष्छवी कालमा बनेका प्रमाण पाइन्छन् । यी सम्पदाले नेपालको विशेष परिचय दिइरहेका छन् । नेपालको प्राचीन सभ्यता प्रस्तुत गरिरहेका छन् । इतिहासदेखि चलिआएका संस्कार संस्कृतिका विभिन्न पाटाले अहिले पनि नेपाली समाजलाई मौलिक रूपमा अघि बढाइरहेका छन् । यी सबै ऐतिहासिक धरोहरलाई मासेर आधुनिकता दिन खोज्नु वा आधुनिक सुविधासम्पन्न बनाउन खोख्नु तथा तिनको बेवास्ता गर्नु मूर्खता हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले संसारभर रहेका सभ्यतामा आधारित मौलिक कला, संस्कृति, वैज्ञानिक खोजलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरेको छ । पछिल्लो समय प्राकृतिक सम्पदालाई पनि विश्व सम्पदा सूचीमा राख्न थालेको छ । त्यस्ता सम्पदाले सम्बन्धित देशको कला, सभ्यता, संस्कृति र चताना स्तर झल्काउने गर्छन् । ती कुराले पर्यटकको मनलाई तानेका हुन्छन् जसले गर्दा राष्ट्रले ठूलो धनराशि आम्दानी गरिरहेको हुन्छ ।

किन पर्छन् सम्पदा खतराको सूचीमा ? विश्व सम्पदा सूचीमा रहेका सम्पदाको संरक्षणका लागि युनेस्कोले सहयोग गर्दै आएको छ । नेपालका सम्पदा संरक्षणमा पनि युनेस्कोले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । यस्ता सम्पदाले विश्व पर्यटनमा ठूलो महत्व राख्छन् । विश्व सम्पदा सूचीमा राखिएका सम्पदाको स्वरूपमा फेरबदल गर्ने, प्राचीन वस्तु नष्ट गरेर आधुनिक सामग्री प्रयोग गर्ने, पुनर्निनिर्माण गर्दा मौलिकतालाई खलबलाउने, सम्पदा क्षेत्रभित्र विभिन्न संरचना बनाउने तथा सम्पदा क्षेत्रको अतिक्रमण गर्ने गर्दा युनेस्कोले ती सम्पदालाई खतराको सूचीमा राख्ने गरेको छ । विश्व सम्पदाहरू खतराको सूचीमा परे भने तिनलाई त्यसबाट बाहिर ल्याउन ज्यादै कठिन पर्छ । काठमाडौं उपत्यकाका पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण, वसन्तपुर दरबार, पाटन दरबार र भक्तपुर दरबार विश्व सम्पदा सूचीमा सूचीकृत छन् । ती सम्पदा युनेस्कोले अहिले खतराको सूचीमा राख्ने प्रस्ताव अघि सारेको छ । यससम्बन्धमा जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने युनेस्कोको ४३ औं सेसनमा छलफल हुने बताइएको छ । युनेस्कोले काठमाडौ उपत्यकाका भूकम्पमा क्षति भएका ऐतिहासिक तथा पुरातात्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको तथा पशुपतिनाथ क्षेत्रको बीचबाट सडक खोलेको र कंक्रिटका संरचना बनाएको भन्दै खतरको सूचीमा राख्ने प्रस्ताव गरेको हो । तीन वर्ष पहिले पनि यी क्षत्रलाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो । त्यतिबेला युनेस्कोको प्रस्ताव पास भएन ।

ऐतिहासिक महत्व नबुझ्नाले सम्पदाको बेवास्ता काठमाडौं उपत्यकामा अनेकौं ऐतिहासिक सम्पदाहरू छन् । युनेस्कोको विश्व सम्पदामा सूचीमा सूचीकृत ७ क्षेत्र मात्रै होइन अरू पनि राष्ट्रका लागि नै विशेष महत्व राख्ने कैयौं क्षेत्रहरू छनु । ती सबै ऐतिहासिक सम्पदाको संरक्षणमा बेवास्ता हुँदै आएको छ । कतिपय क्षेत्रलाई आधुनिक स्वरूप दिँदै व्यापारिक प्रयोजनमा उपयोग गर्न प्रयास हुँदै आएको छ । केही समयपहिले काठमाडौंको मुटुमा रहेको ऐतिहासिक रानीपोखरीलाई नयाँ स्वरूप दिई कंक्रिट प्रयोग गरेर पुनर्निर्माण गर्ने र त्यसको वरिपरि सायंकालीन रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल बनाउन काठमाढौं महानगर नै लाग्यो । आमजनताको विरोधपछि फेरि पुरानै ढाँचामा निर्माण गर्न थालिएको छ । पशुपतिनाथ क्षेत्रका अनेकौं सम्पदा नष्ट हुने अवस्थामा छन् । तिनको संरक्षण हुन सकेको छैन । त्यहाँ कंक्रिट संरचना बनाउन प्रयास गरिँदै छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेका अति प्राचीन वस्तुहरू कहीँ टुटेफुटेका छन्, कहीँ त्यत्तिकै घामपानीमा फ्याँकिएको अवस्थामा छन् । वाग्मती तटमा रहेका अनेकौं मठ–मन्दिर जीर्ण अवस्थामा छन्, अनेकौं मूर्ति तथा ऐतिहासिक महत्वका वस्तु नष्ट हुने अवस्थामा छन् । यसो हुनुको मुख्य कारण जिम्मेवार क्षेत्रमा बस्नेहरूले ती वस्तुको महत्व नबुझ्नाले हो । यी वस्तुले नेपालको मौलिक संस्कार, संस्कृति तथा सभ्यता प्रस्तुत गरिरहेको कुरालाई नबुझ्नु वा बेवास्ता गर्नु हो ।

सम्पदाको बेवास्ता हुनुको अर्को कारण सरकार सञ्चालक तथा कर्मचारीतन्त्रमा रहेको आधुनिकताको भोक हो । अहिले उनीहरू सम्पदा जस्ताको तस्तै जोगाएर राख्नुको साटो ती क्षेत्रलाई आधुनिक मोड दिएर मनोरञ्जन स्थलका रूपमा प्रयोग गरी धेरै धन कमाउने मानसिकतामा रहेको देखिन्छ । उनीहरूले विदेशी पर्यटकहरू नेपालका मौलिकता हेर्न आउँछन् भन्ने कुरा बेवास्ता गरी मनोरञ्जन गर्न मात्रै आउँछन् भन्ने मानसिकता बोकेर हिँडेको देखिन्छ जो अत्यन्तै गलत छ । यो मानसिकता नेपाली सभ्यता, संस्कृति र मौलिकताविरोधी पनि हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया