एसईईको ग्रेडिङ प्रणालीप्रति सरोकारवालाहरुको असन्तुष्टि

प्रकाशित मिति:

काठमाडौं – विभिन्न निकायका सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने, ‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’

क्लबमा सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए  त्यस्तै नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए ।

उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ । यसैगरी कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन ।

सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए । उनले भने,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यस्तै, प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । उनले भने,‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ ।’ केसीले मुलुकमा सिपमूलक शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाप्रति नेपालीहरु बफादार नभएको पनि गम्भिर टिप्पणी गरे ।