प्रथम तिलोत्तमा मेयर कप फुटबल शुरु ,उद्घाटन खेलमा पाल्पा विजयी

प्रकाशित मिति:

टोपराज शर्मा बुटवल, १३ असार । तिलोत्तमा फूटबल एकेडेमी तिलोत्तमा रुपन्देहीको आयोजनामा शुक्रबारदेखि प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा पाल्पा–११ ले आयोजक तिलोत्तमा फुटबल एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पाल्पा–११ को जितमा सुमित केसीले खेलको ५८ औं र ७८औं मिनेटमा एक्लै दुई गोल गरेका थिए । आयोजक टिमको तर्फबाट विज्ञान गुरुङले ६८औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा पाल्पाका सुमित केसी म्यान अफ द म्याच घोषित भएका छन् । शनिबार नवलपरासीको देशभक्त युवा क्लब र स्मृति स्पोर्टस् क्लब तिलोत्तमाबीच खेल हुने आयोजक संस्थाका विकास गुरुङले जानकारी दिए । यसअघि तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा मेयर घिमिरेले युवाहरुलाई कुलतमा लाग्नबाट जोगाउन र खेलकुदको विकासका लागि यस्ता प्रतियोगिताहरुको ठूलो महत्व हुने बताए ।

एकेडेमीका अध्यक्ष तिलक नेपालीले ग्रासरुट लेबलबाटै खेलाडी उत्पादन गर्ने र फुटबल खेलको विकासमा योगदान पु¥यााउने उद्देश्यले एकेडेमी स्थापनाकै वर्ष सहयोग जुटाएर प्रतियोगिता आयोजना गरेको बताए । एकेडेमीका महासचिव युवराज पराजुलीको संचालनमा उद्घाटन कार्यक्रम भएको हो । प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका १६ टिमकोको सहभागिता रहने खेल संयोजक घनश्याम श्रेष्ठले बताए । असार २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा जिल्ला बाहिरका टीमलाई प्रति टीम २ हजार रुपैया यातायात खर्च र प्रत्येक पटक जित्ने टीमलाई २ हजार रुपैया प्रोत्साहन रकम दिइने महासचिव युवराज पराजुलीले बताए । प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट खेलाडीलाई बिशेष पुरस्कार दिइने छ । साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरिएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ । खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपागंता भएका व्यक्तिहरुलाई निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ ।