शँकरनगर सामुदायिक वनमा ईको क्लव गठन

प्रकाशित मिति:

बुटवल, १३ असार । वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्वेश्यले शँकरनगर सामुदायिक बन उपभोक्ता समूहमा ईको क्लव गठन गरिएको छ । सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने १६ वटा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेट्ने गरी शुक्रबार सामुदायिक भवनको हलमा भेला गराएर ईको क्लव गठन गरिएको हो । सामुदायिक वनका पदाधिकारी, सदस्य तथा विद्यार्थीहरुको भेलाले जनजागृति मावि शँकनगरकी विद्यार्थी स्नेहा पौडेल संयोजक र प्यारामाउण्ट उच्च माविका विद्यार्थी आमुल सापकोटा सह संयोजक रहने गरी ईको क्लव गठन गरिएको हो ।

क्लवमा सिद्धार्थ बोर्डिङ्ग स्कूलका सन्ध्या पोख्रेल र राहुल मल्ल, शँकरनगर दुर्गादत्त उच्च माविका दिपिका परियार र निशान न्यौपाने, एपेक्स स्कूलका कोशिस ज्ञवाली र समिक्षा क्षेत्री, होराईजन गौतम बुद्ध स्कूलका अभिषेक न्यौपाने र सानिया डंगोल, पामिर ईण्टरनेश्नल एकेडेमीका पवन कँडेल र आयुष्मा डुम्रे, जनज्योती माविका मन्धरा श्रेष्ठ र मनोज राना, दुर्गा बैदिक पिठका सन्देश भण्डारी र दामोदर उपाध्याय, प्यारामाउण्ट उच्च माविका अर्चना अर्याल र जनजागृति माविका अन्जन खड्का सदस्य रहेका छन् ।  ईको क्लवमा रहेका सम्पुर्ण विद्यार्थीहरुले आआफ्नो विद्यालयमा विद्यालय स्तरीय ईको क्लव गठन गरी वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका क्षेत्रमा रचनात्मक र प्रचारात्मक कार्यक्रम संचालन गर्ने छन् । ईको क्लवको मूल समितिले सामुदायिक वन र विद्यालय स्तरमा गठन भएका क्लवहरु संग समन्वय गरेर आफ्ना कार्यक्रम संचालन गर्ने छ ।  क्वल गठन कार्यक्रममा सहजीकरण गर्दै सामुदायिक वनका पार्षद तोलाकान्त डुम्रेले बढ्दो वन विनास, जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि ईको क्लवमा आवद्ध विद्यार्थीहरुको भूमिका महत्वपुर्ण हुने वताउनुभयो । विद्यार्थीहरुले वातावरणका क्षेत्रमा खेल्ने भूमिकाले विद्यालय क्षेत्रको वातावरण सफा र राम्रो हुनुका साथै घर तथा समुदायमा समेत यसको राम्रो प्रभाव पर्ने डुम्रेले वताउनु भयो ।

सामुदायिक वनका अध्यक्ष राम गिरीले एक्लो प्रयासले मात्र वातावरण संरक्षण र हरियाली प्रवद्र्धन जस्तो कार्य सम्भव नहुने भएकाले विद्यार्थीहरुलाई प्रकृति प्रेमी वनाई यो अभियानमा संलग्न गराउने उद्वेश्यले ईको क्लव गठन गरिएको वताउनु भयो । सोही अवसरमा तोलाकान्त डुम्रेले शँकरनगर सामुदायिक वनका बिषयमा गर्नुभएको शोधपत्र वनका अध्यक्ष राम गिरीलाई हस्तान्तरण गर्नुभएको थियो । शोधपत्रमा सामुदायिक वनको सवै विषयवस्तु समेटिएको छ ।  यस अघि शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा–१–४ ले समूहको बार्षिक कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिम सम्पन्न गरेको छ । समूहमा आवद्ध तिलोत्तमा १–४ का महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्वेश्यले गुडिया बनाउने तालिम आयोजना गरिएको हो । महिलाहरुको क्षमता विकास गर्न र रोजगार प्रदान गर्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सामुदायिक बनले गुडिया बनाउने तालिम संचालन गरेको बताउनु भयो ।
पुरुषहरुको तुलनामा महिलाहरु हरक्षेत्रमा पछाडी परेकाले उनीहरुको नेतृत्व र क्षमता विकास संगसंगै स्वरोजगार र आत्मनिर्भर वनाउने उद्वेश्यले महिलाहरुलाई लक्षित गरेर रोजगारमुलक कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिम संचालन गरेको समूहका अध्यक्ष राम गिरीले वताउनु भयो । १० दिनसम्म संचालन भएको तालिममा तिलोत्तमा १–४ का समूहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।