तिलोत्तमाले मनायो वृक्षारोपण दिवस , सिक्सलेन सडकमा स्टोनियाका विरुवा रोपिए

प्रकाशित मिति:

तिलोत्तमा, असार १४ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शनिबार वृक्षारोपण गरेको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले दिवसको अवसरमा सिक्सलेन सडकको भलवारीमा वृक्षारोपण गरेको हो ।  नेपालमा हरेक वर्षको असार १४ गते वृक्षारोपण दिवस मनाउने गरिन्छ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाले दिवसको अवसरमा सिक्सलेनको ग्रीनरी जोनमा स्टोनियाका झण्डै दुई सय पचास विरुवाहरु रोपेको हो ।  वृक्षारोपणको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले रोपिएको विरुवाको भविष्यमा गर्नुपर्ने हेरचाहमा समेतमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाले गत वर्षबाट वृक्षारोपण सप्ताह आयोजना गर्दै आएको र यो वर्ष साउन १ बाट वृक्षारोपण सप्ताह सञ्चालन हुने जानकारी गराउँदै नगर प्रमुख घिमिरेले आफ्नो घरआँगन, खाली भू—भाग तथा उपयुक्र्त स्थानमा फलफूल तथा वनस्पतिका विरुवाहरु रोप्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभयो ।

विगत वर्षमा जस्तै यो वर्ष पनि नगरबासीलाई वृक्षारोपण सप्ताहको अवसरमा अनुदानमा विरुवाहरु उपलब्ध गराइने जनाउँदै उहाँले टोल विकास संस्था तथा वडा कार्यालयमा सम्पर्क राखेर अनुदानमा विरुवाहरु पाइने बताउनुभयो ।  दिवसको अवसरमा सम्पूर्ण नगरबासीलाई कम्तिमा दुई विरुवा रोपी त्यसको हेरचाह समेत गर्न अनुरोध गरेको नगरपालिकाले जन्मदिनमा कम्तिमा एउटा विरुवा रोपौं भन्ने अभियान समेत सञ्चालन गर्दै आएको छ । बेगनबेलियालाई सिटी फ्लावर निर्धारण गरेको तिलोत्तमा नगरपालिकाले सिक्सलेन सडकमा स्थानीय बासिन्दासँगको सहकार्यमा सघन हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरेको छ ।  कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालगायतले वृक्षारोपण महत्व र नगरपालिकाको योजनाको बारेमा जानकारी गराउनु भएको कार्यक्रम वडा नं. ७ का कार्यवाहक वडाध्यक्ष देवीप्रसाद पंगेनीको अध्यक्षता र प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।