पश्चिम युरोपको तापक्रम अहिलेसम्मकै उच्च, अझै बढ्ने अनुमान

प्रकाशित मिति:

तस्वीर–एफपी/ पेरिस– पश्चिम युरोपको तापक्रम एक्कासी बढ्न थालेको छ । पश्चिम युरोपका फ्रान्स, स्पेन, इटालीलगायतका मुलुकमा तापक्रम ह्वात्तै बढेको हो । फ्रान्सका केही स्थानमा तापक्रम ४५ डिग्रीसम्म पुगेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । तापक्रम अझै बढ्न सक्ने अनुमान मौसमविद्हरुले गरेको बीबीसीले जनाएको छ ।

त्यसबाहेक स्विट्जरल्याण्ड, बेल्जियम, जर्मनी, नेदरल्याण्ड्समा समेत तापक्रम बढेको बीबीसीले जनाएको छ । बढ्दो तापक्रमकै कारण स्पेनका केही क्षेत्रमा डढेलो समेत लागेको अधिकारीको भनाइ छ । उत्तर अफ्रिकाको सहारा मरुभूमिबाट आएको तातो हावाका कारण तापक्रम बढेको मौसमविद्हरुले जनाएका छन् । गर्मीका कारण केही मानिसहरुको ज्यान गएको समाचार सार्वजनिक भएपनि यसको पुष्टि भने भइसकेका छैन ।

पश्चिम युरोपका केही क्षेत्रमा विद्यालय बन्द गरिएको तथा मानिसहरुलाई आफूलाई चिसो राख्न आह्वान गरिएको छ । स्विमिङ पुल, समुद्रको किनार र सार्वजनिक स्नानकक्षमा मानिसहरुको भीड बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।