इरानसँगको तनावबीच अमेरिकाले मध्यपूर्व पठायो एफ–२२ फाइटर विमान

प्रकाशित मिति:

बुटवल – इरानको सँगको तनाव कायम रहेको अवस्थामा अमेरिकाले आफ्नो एफ–२२ विमान मध्यपूर्व पठाएको छ । अमेरिकाको एयरफोर्सले एफ–२२ फाइटर विमान कतार पठाएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाले पठाएको विमान कतारको अल उदैद एयर बेसमा आइपुगेका हुन् । अमेरिकाको एयर फोर्सले कतिओटा एफ–२२ विमान कतार पठाइएको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । सार्वजनिक भएको एक तस्वीरले भने कम्तमिा पाँचओटा विमान कतार पुगेको देखाएको छ ।

एयरफोर्सका अनुसार अमेरिकी फोर्सको रक्षा तथा यो क्षेत्रमा अमेरिकाको दायित्व पूरा गर्नको लागि पहिलोपटक उक्त फाइटर विमान कतार पठाइएको हो । इरानले अमेरिकाको सैन्य विमान खसालेको एक सातापछि अमेरिकाले यस्तो निर्णय गरेको हो । इरानले उक्त ड्रोन इरानको आकाशमा रहेको बताउँदै आएको छ । अमेरिकाले भने उक्त ड्रोन अन्तर्राष्ट्रिय समुद्रमा रहेको बताएको छ ।

विश्लेषकका अनुसार इरानको मिसाइल सुरक्षा प्रणालीलाई लक्षित गरी कतारमा उक्त फाइटर विमान अमेरिकाले पठाएको हुनसक्ने बताएका छन् । कतारमा अमेरिकी फाइटर विमान पठाउने निर्णयले आगामी दुवै मुलुकको बीचमा थप द्वन्द्वको अवस्था आउनसक्ने बताइएको छ । अमेरिकी विमान खसालिएसँगै अमेरिकाले २ हजार सैनिक मध्यपूर्वमा पठाइसकेको छ । – एजेन्सी