संसार स्तब्ध पार्ने तस्बिर खिच्ने पत्रकार भन्छिन्– यो दृश्यले झकझक्याएन भने समाज गलत बाटोमा छ

प्रकाशित मिति:

अमेरिका पस्न चाहने आप्रवासी शरणार्थी बाबुछोरीको शवको तस्बिर गएको आइतबारदेखि भाइरल छ। सो तस्बिर जुलिया ले डुसले खिचेकी हुन्। मेक्सिकोको माटामोरोसबाट प्रकाशित हुने ’ला जोर्नाडा’ पत्रिकाका लागि खिचेको तस्बिरले अहिले संसार स्तब्ध पारेको छ।

रियो ग्रान्डे नदी किनारमा मृत अवस्थामा फेला परेका ती बाबुछोरीको तस्बिर खिच्ने पत्रकार जुलियाले अर्को पत्रिका ‘द गार्जियन’सँग यसरी फोटो अनुभव सुनाइन्। त्यसैको भावानुवादः कुरा गत आइतबारको हो। रियो ग्रान्डे नदी किनारतिर एक जना चिन्तित र भौंतारिकी महिला भेटिइन्। ती महिलाबारे माटामोरोसमा हल्लाखल्ला मच्चियो। त्यसबारे मैले पनि सुनेँ। त्यसपछि के रहेछ भनी बुझ्न नदीतिर लागेँ। म त्यहाँ पुग्दा ती महिला रोइकराइ गर्दै थिइन्।

पहिला त मैले केही बुझ्नै सकिनँ। पछि बुझ्दै जाँदा ती महिलाकी छोरीलाई नदीले बगाएको रहेछ। थाहा भयो, ती महिलाको नाम भेनिसा अभालोस रहेछ। अभालोसले त्यहाँ उपस्थित सरकारी अधिकृतलाई आफ्नो परिवारका विषयमा बताइरहेकी थिइन्। भन्दै थिइन्, ‘उनीहरु दुई महिनादेखि मेक्सिकोमा बसिरहेका थिए र अमेरिकामा शरण लिन चाहन्थे।’

श्रीमान् र छोरीलाई रियो ग्रान्डे नदीले बगाएपछि प्रहरीलाई जानकारी गराउँदै भेनिसा

उनीहरु दक्षिण मेक्सिकोको तापाचुलामा बस्थे। मेक्सिकोमा बस्नका लागि उनीहरुले भिसाको प्रक्रिया पनि अघि बढाएका थिए। मानवीय भिसा प्राप्त भएको खण्डमा मेक्सिकोमा एक वर्षसम्म बस्न सकिन्छ। काम पनि गर्न पाइन्छ। तर उनीहरुलाई मेक्सिको बस्नु नै थिएन, यो तरिका उनीहरुले अमेरिका पस्नका लागि अवलम्बन गरिरहेका थिए। छोरा मार्टिनिज र नातिनीको तस्बिर हेरेर भक्कानिँदै मार्टिनिजकी आमा उनीहरु जसरी भए पनि ‘अमेरिका–सपना’ पूरा गर्न चाहन्थे। यही सपनाले उनीहरुलाई त्यो बिहान बस चढाएर अमेरिकाको सीमासम्म ल्याइपुर्‍याइएको थियो। बाबुआमा र छोरीसहित तीन जनाको परिवार बिहानै ‘बोर्डर एरिया’मा पुगेर त्यहाँको प्रहरीलाई भने, ‘हामी असाइलम दर्ता गर्न चाहन्छौं।’ मेक्सिको–अमेरिका जोड्ने सीमास्थित अन्तराष्ट्रिय पुलमा गएर प्रहरी कार्यालय छ। उनीहरुको भनाइ सुनिसकेपछि प्रहरीले आइतबार भएकाले कार्यालय बन्द रहेको जानकारी दियो। त्यहाँ असाइलम दर्ता गर्न चाहने दर्जनौं मान्छेहरुको भिड देखिन्छ।

अघिपछि पनि यस्तो घुँइचो देखिन्छ। यहाँ केही महिनाअघिसम्म कम्तीमा १८ सय मान्छे अमेरिकामा शरणका लागि आवेदन दिएर अन्तर्वार्ताको पालो कुर्दै बसेको दृश्य देखिन्थ्यो। आजकल भने ३ सयको हाराहारीमा होलान्। प्रहरीले हप्तामा तीन जनाभन्दा धेरैको अन्तर्वार्ता लिँदैन। त्यसैले आवेदकहरुले हप्तौंमात्र होइन, महिनौं पनि कुर्नुपर्ने हुन सक्छ। सम्भावित कुराइको कारण पनि दम्पती निराश थियो। यो दम्पती छोरी बोकेर पुलबाट फर्किइरहेका थिए। मार्टिनिज रोकिए, पुलबाट नदीतिर हेरे र भेनिसालाई नदीतिर देखाउँदै भने, ‘हामी उ: त्यहाँनेरबाट नदी तर्न सक्छौं।’ त्यसपछि भएछ के भने, बाबु मार्टिनिज छोरी बोकेर नदीमा हेलिएछन्। छोरीलाई सफलतापूर्वक नदी तारेर पारिपट्टि अमेरिकाको भूमिमा पुर्‍याएछन्। उनी छोरीलाई पारि छाडेर श्रीमती भेनिसालाई लिन नदीवारि आएछन्।

यो परिवारको दुर्भाग्य नै त्यसपछि सुरु भयो। जब बाबु मार्टिनिज आफ्नी श्रीमतीलाई लिन पारि अमेरिकातिरबाट नदीमा हेलिए, ठिक त्यतिबेलै सानी छोरी पनि बाबुलाई पछ्याउँदै नदीमा हेलिइछन्। पहिला त बाबु मार्टिनिजले मेलो पाएनन्। जब उनले यसको भेउ पाए, त्यतिबेलासम्म छोरी नदीको धारमा आइसकेकी थिइन्।

मार्टिनिज छोरीलाई नदीमा छिरेको देख्नासाथ बाँकटे हान्दै त्यतैतिर हान्निए। रियो ग्रान्डे नदीको तीव्र धारका अगाडि मार्टिनिजको केही सिप लागेन। नदीले बाउछोरी दुवैलाई बगायो। श्रीमती भेनिसा रुँदै चिच्याउँदै नदी किनारमा दौडिरहिन्। आफ्ना श्रीमान् र सानी छोरी डुब्दै गरेको हृदयविदायक दृश्य उनले हेरिरहनुपर्‍यो। नदी छेउछाउ रहेका मानिसहरुले यसबारे थाहा पाएपछि उद्धारका लागि प्रहरीलाई खबर गरे। प्रहरीले मध्यरातसम्म खोजी जारी राख्यो। तर बाबुछोरी दुवै भेटिएनन्। भोलिपल्ट सबेरै फेरि खोजी सुरु भयो।

बिहानको सवा १० बजेतिर उद्धारकर्ताहरुले दुई वटा शव भेटे। घटनास्थल कभर गर्नुअघि मैले यी तस्बिरहरु खिचेकी थिएँ। नदीमा डुबेर मरेकाहरुको अरु शव पनि देखेकी छु। रियो ग्रान्डे साँच्चैको खतरनाक नदी हो। तपाईंलाई यो नदी शान्तपूर्वक बगिरहेको भन्ने लाग्ला, होइन। यो एकदम धारिलो नदी हो। मैले खिचेको तस्बिर एउटा तस्बिर मात्र होइन। अमेरिका पस्न चाहनेहरुको बाध्यात्मक कथा पनि यसमा छ। यो दृश्यले झकझक्याएन भने हाम्रो समाज गलत दिशामा छ भन्ने बुझौं।